काठमाडौँ - सांसद राजेन्द्र लिङ्देनले गुठी परम्परा सामन्तवादको प्रतिक हो भनेर सरकारले आगोमाथि घ्यू थप्ने काम गरेको बताएका छन्।
संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिङ्देनले भने, ‘आफूले भनेका जम्मै कुरा, बुझेका कुरा सही र अरुले भनेका सकारात्मक कुराहरू पनि गलत हुन् भन्ने बुझाइ सर्वसत्तावादी सोच हो। यो अविलम्ब रोकिनु पर्छ। याे कुरा सरकारका लागि स्वस्थकर विषय हुन्छ।’
उनले अगाडि भने, ‘सनातन परम्परा, स्थायित्व र एकताका आधारहरू गुठी परम्परा हो। यसै परम्मपरामाथि आक्रमण हुँदैछ। यो तत्काल रोकिनुपर्छ। यो विधेयक पास भएको खण्डमा सरकारले नियुक्त गरेका पदाधिकारी रहेका प्राधिकरणमा गाभिनेछन्। त्यसपछि व्यापारी र भू-माफियाहरूको प्रवेश खुल्नेछ। त्यसैले हिन्दु, बाैद्ध, किरातलगायत गुठी हाम्रो परम्परा हुन्।’
सांसद लिङ्देन पूर्वमाओवादीलाई इंगित गर्दै भने, ‘कुनै बेला जंगलमा रहेका बेला र पछि सत्तामा पुगेपछि नेवा: लगायत विभिन्न समुदायलाई राज्य दिन्छु भन्थे। आज उनै समुदायको पहिचान र परम्परासँग जोडिएको गुठीलाई खोस्ने ? स्थिति बिग्रिनु पहिले यो विधेयक फिर्ता लिएर उपत्यका बाहिरका मोहीहरूका समस्या समाधान हुनेगरी यो विधेयक सच्चाएर ल्याउन आग्रह गर्दछु।’
उनले भने, ‘२०३२ सालमा हाम्रो देशनजिक सिक्किम भन्ने देश थियो। आज छैन। त्यहाँ राजतन्त्र ढल्यो। सिक्किम पनि ढल्यो। त्यसैले म फेरि पनि भन्न चाहन्छु, सरकारले यो गुठी विधेयक तत्काल परिमार्जन गरोस्। सम्भावित खतरा दुर बनोस्।’