काठमाडौँ– राजपाका सांसद प्रमोद साहले सरकारले दुई तिहाईको दम्भ देखाएर संविधान विरोधी काम गरिरहेको आरोप लगाएका छन्। आइतबार संघीय संसदको बैठककाे शुन्य समयमा बोल्दै सांसद साहले दुई तिहाई बहुमतको दम्भ देखाएर प्रतिपक्षलाई र जनतालाई अनुकुलता नहुने गरी विभिन्न विधेयक ल्याईरहेको भन्दै यसलाई रोक्न माग गरे।
सांसद साहले लाल आयोगको प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न समय दिए पनि नदिएको तथा सरकारले सभामुखको रुलिङ नमानेकाे भन्दै आक्रोश पोखे। उनले अहिले लोकसेवाले सार्वजनिक गरेको विज्ञापन समावेशी नभएको भन्दै रोक्न माग पनि गरे।
उनले भने ‘अहिले देशको विभिन्न ठाँउका टोलटोलको लोकसेवाको विज्ञापन समावेशी नभएको गुनासो भइरहेको छ। यसलाई सरकारले तुरुन्त रोक्न लगाउनुपर्यो।
उनले सरकारले संविधानलाई नै मान्न छोडेको आरोप लगाए। आफैले बनाएको संविधानको पालना गर्न सकिरहेको छैन। सरकार किन यस्तो भईरहेको छ? उनले प्रश्न गरे। उनले सरकारले दुई तिहाईको दम्भ देखाएर समानुपातिक र समावेशीलाई तुहाउन खोजेको आरोप लगाए।