भक्तपुर, १ माघ – नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विभिन्न बहानामा नेपाललाई फेरि अस्थिरताको दलदलमा फसाउने षडयन्त्र भइरहेको बताएका छन्।
देकाचामा भक्तपुर नगरपालिकाको चौथो नगरसभामा बिजुक्छेले नेपाललाई राजनीतिक अस्थिरतामा धकेल्ने षडयन्त्रप्रति सरकार सचेत हुनुपर्ने बताएका हुन्।
यसैबीच, भक्तपुर नगरपालिकाले आव २०७५/७६ को साउनदेखि मङ्सिरसम्म आन्तरिकतर्फ रु १७ करोड ९७ लाख ५९ हजार राजश्व सङ्कलन गरेको छ। नगरसभामा नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आव २०७४/७५ को सोही अवधिमा रु १३ करोड ९९ लाख ४३ हजार राजश्व सङ्कलन गरेकामा चालू आवमा २८ दशमलव ४५ प्रतिशतले राजश्व वृद्धि भएको जानकारी दिए।
नगरपालिकाले आव २०७५/७६ मा ४१ नगरस्तरीय योजनाका लागि रु ३६ करोड ५१ लाख २३ हजार रकम विनियोजन गरेकामा ५० प्रतिशतसम्म निर्माण सम्पन्न भएको जनाएको छ। त्यस्तै क्रमागत योजनामा रु १६ करोड २३ लाखको योजनामध्ये भौतिक पूर्वाधार विकासतर्फ २० र सम्पदातर्फ १३ योजना सम्पन्न भएको छ।