काठमाडौँ– झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ। साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार प्रमुख भएकाले महत्तपूर्ण विषयमा सहमति वा सम्झौता भने हुन सकेन।
बेलायत महारानीसँग पनि भेट हुन सकेन। बेलायतमा महारानीसँगको भेटलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ। कामचलाउ प्रधानमन्त्री भएका बेला भएको भ्रमणमा महारानीसँग भेट हुन नसक्नुलाई परराष्ट्र मामिलाका जानकारहर गलत समयको भ्रमण र कूटनीतिक अपरिपक्कताको परिणाम भएको बताउँछन्।
प्रधानमन्त्री ओलीले महारानीको सट्टा राजकुमार ह्यारीसँग भेट गरेर चित्त बुझाउनु परेको छ।कूटनीतिक मामिलाका जानकार मदनकुमार भट्टराई नेपाल र बेलायतको सम्बन्ध धेरै पुरानो र विशिष्ट किसिमको भएको बताउँछन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला महारानीसँग भेट हुन नसक्नुलाई पर्याप्त तयारीको अभाव भन्छन्। ‘पर्याप्त तयारी भएको भए बेलायती महारानीले नेपालका प्रधानमन्त्रीलाई भेट नदिने भन्ने कुरा हुँदैनथ्यो,’ उनले भने। यो समाचार नागरिक दैनिकमा छापेको छ।