काठमाडौँ - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सांसदलाई नभएर विद्यार्थीहरूलाई ल्यापटप प्रदान गर्न सरकारसँग माग गरेको छन्।
दलका महासचिव शाहीले बिहीबार एक विज्ञप्ति जारी गरेर सरकारले सांसदहरूलाई दिने भन्दै आएकाे ल्यापटप विद्यार्थीलाई दिनुपर्ने माग गरेका हुन्। उनले जनप्रतिनिधिहरू जनताका समस्या समाधान गर्नुको साटो आफ्नो सुविधा बढाउनतर्फ लागेकाे भन्दै आपत्ति जनाएका छन्।
महासिचव शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई कानुनी राज्यको प्रत्याभूति गराउनु, जनताका समस्याको समाधान गर्न लाग्नुको साटो उल्टै आफनै सुविधा बढाउनमात्र लाग्नु जनप्रतिनिधिको गैरजिम्मेवार कार्य हो। यस्तो हर्कतको घोर भत्र्सना र विरोध गर्दै सांसदलाई दिने भनिएको ल्यापटप विद्यार्थीहरुलाइ हस्तान्तरण गर्न जोडदार माग गर्दछु।’
महासचिव शाहीले सरकारले सांसदहरुलाई निःशुल्क रुपमाल्यापटप दिने कार्य राज्यकोषको ब्रह्मलुटभएको पनि बताएका छन्। उनले भनेका छन्, ‘जनताको दुःख र पसिनाबाट उठेको करबाट आफ्नो सेवा सुविधा बढाउनु, विभिन्न बहानामा राज्यको सम्पत्ति कुम्ल्याउन खोज्नु एकप्रकारको भ्रष्टाचार नै हो।’