काठमाडौँ – नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ।
एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, र्याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। जागरणको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भएर यही जेठ २५ गते सम्पन्न भएको थियो।
प्रथम चरण र आगामी कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी लगायतको सहभागिता रहेको बताए। अभियानलाई व्यवस्थित बनाउन पार्टीले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो।
प्रथम चरणको जागरण अभियानलाई पछिल्लो समय कुनै पनि राजनीतिक दलद्वारा जनस्तरमा प्याकेजमा अघि सारिएको बृहत् र नवीन एक मात्र कार्यक्रमका रुपमा कांग्रेसले व्याख्या गरेको छ। अभियानका क्रममा स्थानीय तहसम्म बृहत्स्तरमा संवाद, विषय सम्प्रेषण र सुझाव सङ्कलन हुनाका साथै गणतन्त्र, सङ्घीयता, सुशासन र समृद्धि जस्ता आम सरोकारका विषयहरुमा बौद्धिक छलफल भएको थियो।
३१ हजार बढी कांग्रेसमा प्रवेश
प्रवक्ता शर्माले भने, ‘कांग्रेसले आफूलाई नवीन ढङ्गले अघि बढाएर संविधान, सङ्घीयता र लोकतन्त्रको रक्षा एवं संवद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने आम अपेक्षा देखिएको छ।’ सोही आशा र विश्वासको भावनाका साथ कांग्रेसमा समाहित हुन चाहने आकाङ्क्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको सो पार्टीले जनाएको छ। अभियान क्रममा सत्तारूढ पार्टी एवं अन्य विभिन्न पार्टीबाट देशभरिका कार्यक्रममार्फत ३१ हजार ६४२ काँग्रेसमा प्रवेश गरेका छन्।
अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन्। कांग्रेसलाई सुदृढ र नवीन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा औँल्याइएका कमजोरी आत्मसात् गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै कांग्रेस अघि बढ्ने जनाइएको छ।
असार तेस्रो साता केन्द्रीय समितिको बैठक
जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ। प्रथम चरणमा खटिएका केन्द्रीय प्रतिनिधिले आगामी असार १४ गतेभित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने निर्देशन गरिएको छ।
पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिबीच विशेष विर्मश गरी जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दामा केन्द्रित रहेर कांग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ।
जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै नेपालको संविधान र कांग्रेसको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिने प्रवक्ता शर्माले जानकारी दिए। नेपाल विद्यार्थी सङ्घलगायतका भ्रातृ संस्थाहरुबारे पनि आवश्यक निर्णय यथाशीघ्र लिइने उनले बताए। अभियानको दोस्रो चरण पूर्व काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रम गरिनेछन्।
कांग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, सङ्गठन र समृद्धि’ केन्द्रित प्रशिक्षण आगामी साउनको प्रथम साता काठमाडौँमा आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ।