काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन्। विधेयक फिर्ता नगरे आन्दोलन गर्ने जबरा र लोहनीले चेतावनी पनि दिएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्षद्धय राणा र लोहनीले संसदमा प्रस्तुत उक्त विधेयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी गरेका छन्।
अध्यक्षद्धयले उक्त विधेयकले नेपालीहरुको धार्मिक निष्ठा र विश्वासको जगलाई खलबलाउने, सनातन धर्ममाथि घात, धार्मिक र सांस्कृतिक क्रियाकलापको राजनीतिकरण गर्ने, परम्परागत गुठीको सामूहिकताको व्यवस्थालाई सखाप पार्ने र सरकारी सहयोगबाट गुठीको सम्पत्ति भूमाफियाको स्वार्थमा परिचालन गर्ने संभावनालाई अगाडि बढाउने देखा परेको आरोप लगाए।
अध्यक्ष जबराले भने, ‘जुन रुपमा यो विधेयक पेश भएको छ, त्यो पारित हुन गए नेपाली जनताको सांस्कृतिक विनास भई देशप्रति अपराध गरेको ठहरिनेछ।’ उनले नेपालीको गुठीको संरचनाले नेपाली संस्कृति, कला र आस्थाको अभिव्यक्तिको रुपमा छरिएर रहेका काठमाडौँमा उपत्यका र देशभर छरिएर रहेका धार्मिक र सांस्कृतिक संस्थाहरुको व्यवस्थापनमा विकेन्द्रित संरचना कायम गर्दै आएको बताए।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उक्त विधेयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर विक्रि गर्न पाउनेगरी हजारौँ रोपनी÷विगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाए। लोहनीले उक्त विधेयकमार्फत सरकारले व्यवसाय गर्ने दाउ राखेको पनि आरोप लगाए।
उनले सरकारले संसदमा टेवुल गराएको उक्त विधेयक जे–जसरी भएपनि फिर्ता लिनुपर्ने सुझाव दिए। विद्येयक फिर्ता नगरे आफूहरुपनि सडक आन्दोलनमा उत्रिने उनको चेतावनी छ। उनले हाल जुन रुपमा ऐन आएको छ त्यो राष्ट्रघाती रहेको पनि टिप्पणी गरे।