काठमाडौँ - प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले ‘विद्यालयमा नटिक्ने विद्यार्थी कसका छोराछोरी हुन् ?’ भन्दै प्रश्न गरेका छन्। आज बिहीबारको संसद् बैठकलाई सम्बोधन गर्दै सांसद थापाले २०६४ सालमा १३ लाख ३४ हजार विद्यार्थी कक्षा १ मा भर्ना भएको र २०७६ सालमा आइपुग्दा जम्मा २ लाख ९० हजार विद्यार्थीले मात्र कक्षा १२ को परीक्षा दिएको भन्दै ‘बाँकी १० लाख ४४ हजार विद्यार्थी कहाँ गए ? कसका छोराछोरी हुन्’ भन्दै प्रश्न गरेका हुन्। उनले भने, ‘ती विद्यार्थी कहाँ हराए ? हराएका ती विद्यार्थी हाम्रा होइनन् ?
सांसद थापाले भने, ‘जो विद्यालयमा टिकेका छन्, तिनको पढाइको स्तर हेर्ने हो भने तिनले कुनै पनि विषयमा ५० प्रतिशतभन्दा बढी सिकेको पाइन्न। अझ अंग्रेजी, विज्ञान हेर्याैँ भने त्योभन्दा अझ धेरै तल छ। यी नसिक्ने विद्यार्थीहरू कसका सन्तान हुन् ? तपाईं हाम्रै होइनन् ?’
उनले देशमा ३६ हजारभन्दा बढी प्रारम्भिक बालविकास केन्द्रहरूमा दक्ष शिक्षकहरूले पढाउनुपर्ने भए पनि कक्षा ८ पढेका शिक्षकहरूले पढाउने र ती बालबालिका सांसदका नभएको समेत दाबी गरे। उनले भने, ‘ती बालबालिका हाम्रा होइनन्। तर, संविधानले त्यसो गर्न पाइँदैन भनेको छ। हामीले लेखेको संविधानमा त्यही लेखेको छ। तर, हामीले जे लेखेको थियो। त्यो कार्यान्वयन गर्न सकिरहेका छैनौँ। यो राष्ट्रको लज्जाको विषय हो। यसको जिम्मेवारी कसले लिने ?’
यसको जिम्मेवारी सबै दलले लिनुपर्ने सांसद थापाको तर्क थियो। उनले भने, ‘हिजोको कांग्रेसले, एमालेले, माओवादी सबैले लिनुपर्छ।’ सार्वजनिक कार्यक्रममा निजी विद्यालयलाई गाली गर्ने तर आफैँले सञ्चालन गरेको सरकारी विद्यालय सांसद कर्मचारीले आफ्ना छोराछोरी पढाउन किन नसक्ने ? दाग अनुहारमा भए पनि ऐनामा पुछ्ने काम भइरहेको भन्दै यसलाई सच्याउनुपर्ने बताए।
उनले विद्यालयको भौतिक पूर्वाधार, शिक्षकको दरबन्दी नभएको प्रति संसदमा सरकारको ध्यानाकर्षक गराएका थिए। उनले कार्यविधि नै नबनाईकन ल्याएको स्वयंसेवक शिक्षकको औचित्य नभएको जिकिरसमेमत गरे।