काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सांसदलाई ल्यापटप बाँड्ने कुराको विरोध जनाएकी छन्। सरकार र पार्टी नेतृत्वको काम कारवाहीमाथि चरम आलोचना गर्ने सांसद झाँक्रीले बिहीबार विनियोजित बजेटबारे छलफलका लागि बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सांसदलाई ल्यापटप दिने कुरा जायज नभएको तर्क गरिन्।
उनले भनिन्, ‘केही दिन अघिदेखि पत्रपत्रिकामा सांसदहरुलाई ल्यापटप बाँड्न संसद सचिवालयले टेन्डर आह्वान गर्यो भन्ने सुनेँ। यो सुन्दा मलाई दुःख लागेको छ किनभने सांसदहरूलाई यस्ता खुद्रा मसिना कुराहरु बाँड्ने र यसको हुर्मत लिने काम बेलाबखत भइरहेको छ ।
कहिले ६ करोड सांसद विकास कोषको नाममा, ५१ सालमा निर्णय गरिएको भन्सार सुविधामा गाडी ल्याउने कुरा। यी सबै कुराहरुले सांसदहरुलाई जनतासँग दुरी बढाउने र सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको देखिन्छ। क्रमश: त्यसले संसदीय व्यवस्था र प्रजातान्त्रिक व्यवस्थामा नै आँच आएका घटना छन्, उनले भनिन्, सांसदलाई प्रविधी मैत्री बनाउँछु भन्ने नाममा सस्ता कुराहरु गरेर सांसदहरूको हुर्मत लिने कुरा बन्द गर्न आग्रह गर्छु।