काठमाडौँ - तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको एक वर्षभन्दा बढी भइसक्यो तर ठाउँ अभावका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको कार्यालय अझै व्यवस्थित हुन सकेको छैन।
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको जहाँजहाँ संसदीय दलको कार्यालय थियो, हालसम्म त्यही ठाउँमा रहेको छ। सांसदहरूको प्रशासनिक काम पनि पुरानै संसदीय दलको कार्यालयमा भइरहेको छ।
संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीको कार्यकक्ष पूर्व एमालेको संसदीय दलको कार्यालयमा छ भने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माको कार्यकक्ष पूर्वमाओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छ।
केही समय पहिले पूर्व एमालेको संसदीय दलको कार्यालयमा एकीकृत पार्टीको संसदीय दलको कार्यालय राख्ने निर्णय गरी त्यसको तयारी थालिएको थियो। त्यसका लागि कोठाहरुको मर्मत सम्भार गर्नुको साथै फर्निचरहरुको व्यवस्था गर्ने काम पनि शुरु भएको थियो तर भवन पुरानो भएको र सबैलाई ठाउँ नपुग्ने भनेर मर्मत सम्भारको काम स्थगित गरिएको संसद सचिवालयका एक कर्मचारीले जानकारी दिएका छन्।
संसदीय दलको दोस्रो भवनको चौथो तल्लामा पूर्वमाओवादी केन्द्रको संसदीय दलको कार्यालय छ भने पाँचौं तल्लामा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालय छ।
फोरम नेपाललाई अन्यत्र सारेर दुवै तल्लामा नेकपा संसदीय दलको कार्यालय राख्ने छलफल भइरहेको संसदीय दलमा कार्यरत एक कर्मचारीले जानकारी दिए। यो समाचार गोरखापत्रले छापेको छ।