काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं सांसद मिनबहादुर विश्वकर्माले वैठक भत्ता शून्यमा झार्न प्रस्ताव गरेका छन्। बुधबारको संसद वैठकमा बोल्दै नेता विश्वकर्माले सरकार पूँजीगतभन्दा चालू खर्चमा लिप्त रहेको आरोप लगाएका छन्।
उनले भने, ‘सरकार भत्ता बढाउनमा केन्द्रित देखिन्छ। यसै पटक बैठक भत्ता ३६ लाख राखिएको छ। शून्यमा झारियोस्। कृषि क्षेत्रमा बिजुली महसुल समावेश गरिएको छ। यो हटाइयोस्। करार सुविधामा ९४ लाख राखिएको छ। त्यस्तै भैपरी आउने खर्चमा ३० करोड राखिएको छ। यो पजनी गरिने खर्च हो। यसलाई पनि हटाइयोस्। सवारी खरिद, कर्मचारी भत्ता, बैठक भत्ता बढाउनमा सरकार किन लागि परेको छ ?’
उनले अगाडि भने, ‘पूँजीगत खर्च बढाउन प्रभावकारी योजना छैनन्। यत्रो व्यापारघाटा छ। आयातलाई कसरी विस्थापित गर्ने भन्नेमा मन्त्रालय बेखबर छ। अर्थमन्त्रीले वाचन गर्नुभएको बजेटमा भनिएको छ, ‘हामी दुई दर्जन विषयवस्तुमा आत्मनिर्भर हुन्छौं।’ तर, कृषिमा प्रभावकारी रूपमा परिवर्तन गर्ने र उत्पादन बढाउने खालका कार्यक्रम छैनन्।’
विश्वकर्माले उत्पादन जमीन भू-माफियाको कब्जामा परेको बताए। उनले भने, ‘उर्बर जमीन भू-माफियाको कब्जामा छ। सरकार मुकदर्शक बनेको छ।