काठमाडौँ - नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरूले संयुक्त रूपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आज बुधबारको बैठक शुरू हुनेबित्तिकै उनीहरूले काठमाडौँका गुठियारहरूले गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै आन्दोलन शुरू गरेको र उनीहरूको माग उचित रहेको भन्दै पूरा गर्न माग गरे। कांग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकारवाला निकायसित छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराए.
सभामुख कृष्णबहादुर महरासित समय लिई उनले प्रस्तावित विधेयकमा पुस्ताैँपुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रूपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपत्तिजनक रहेको बताए। उनले भने, ‘विधेयक सरोकारवाला निकायसँगको छलफलबिना किन ल्याउनुपर्यो ? यसबाट २ हजारभन्दा बढी गुठी प्रभावित हुन्छन्। विधेयक संविधानविपरीत छ। निजी सम्पत्ति राख्न पाउने अधिकारलाई घुमाउरो पाराले आक्रमण गर्न खोजियो। धार्मिक स्वतन्त्रताविपरीत भयो। म विधेयक फिर्ता लिन आग्रह गर्दछु।’
राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले लोकसेवा आयोगले हालै प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन फिर्ता लिन, विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे । उनले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन आग्रह गर्दै धर्म संस्कृति रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । बैठकमा सभामुख महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । (रासस)