काठमाडौँ - अनेरास्ववियु र नेपाल विद्यार्थी संघले तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न त्रिविसँग माग गरेको छ।अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले निर्वाचित स्ववियुको पदावधि केही समय थप गर्नुपर्ने बताए।
उनले नेपाली पब्लिकसँगको कुराकानीमा भने, ‘त्रिविले क्यालेण्डर परिवर्तन गरेर भए पनि स्ववियु निर्वाचन गर्नुपर्छ। त्रिविले नेविसंघ संस्थागत रुपमा उपस्थित छैन भन्ने कारण देखाइरहेको छ, यो कुरा ठीक होइन।’
उनले भने, ‘स्ववियुको निर्वाचन गर्नको लागि २०/२५ दिन लाग्छ। त्रिविले विद्यार्थी संगठनलाई तयार गर भनेर भन्न सक्नुपर्छ। मिति घोषणा गर्नुपर्छ। हालको लागि यिनै मागहरू हामीले त्रिविलाई सुनाउँदै आइरहेका छौँ। कसैका कारण स्ववियुको निर्वाचन अनिश्चित बन्नु हुँदैन।’
त्यस्तै अनेरास्ववियुकै नेता सुनिता बरालले निर्वाचित स्ववियुलाई अवैधानिक करार गरेर ‘भ्याकुम’ सिर्जना गर्न नहुनेमा जोड दिएकी छन्। उनले भनिन्, ‘मैले पटक-पटक स्ववियुको निर्वाचन समयमै गर्नुपर्छ, यसमा सबै विद्यार्थी संगठन एक ठाउँमा आउनुपर्छ भन्दै आएकी छु। स्ववियु निर्वाचन नहुनुमा कुनै एउटा पक्षको मात्रै दोष छैन। त्रिविले गत वर्ष फागुनमा निर्वाचन समिति गठन गर्यो। तर, त्यसले काम गर्न सकेन। नियमत: त्रिविले तत्काल निर्वाचन मिति घोषणा गर्नुपर्छ र अस्थिर स्ववियुलाई स्थिर बनाउनुपर्छ।’
स्ववियु निर्वाचनको बारेमा नेपाल विद्यार्थी संघका निवर्तमान सभापति नैनसिंह महरले निर्वाचित स्ववियुलाई वैधानिकता प्रदान गर्न म्याद थप्नुपर्ने बताए। सात महिनादेखि अवैधानिक रुपमा सञ्चाल हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियनको म्याद थप गर्नेमा एकमत देखिएका विद्यार्थी नेताहरू स्ववियु निर्वाचन नहुनुमा भने आफूहरुको कुनै दोष नभएको जिकिर गरिरहेको नेता महरले बताए।
नेता महर भन्छन्, ‘स्ववियु निर्वाचन गर्ने मुख्य जिम्मा त्रिविको हो। यसको कुलपति प्रधानमन्त्री हुनुहुन्छ। उहाँले चाहेको खण्डमा स्ववियु निर्वाचनको मिति तत्काल घोषणा हुन्छ। नेविसंघ चुनाव लड्न तयार छ। हामीले धेरै पटक ताकेता गरेका छौँ। सुझाव दिएका छौँ। समयमै निर्वाचन गर्नको लागि ध्यानाकर्षण पत्र बुझाएका छौँ। तर, त्रिविले सुनेर पनि नसुझैँ गरिरहेको छ।’
उनले अघि थपे, ‘त्रिविले स्ववियुको मात्रै होइन, प्राध्यापक संघको समेत निर्वाचन नगरेको ८/१० वर्ष भइसक्यो। यसको सम्पूर्ण दोष सरकार र त्रिविले लिनुपर्छ। त्रिविको चुनाव गर्न हाम्रो मातृपार्टी कांग्रेस नै राजी हुनुपर्छ भन्ने कुनै कारण छैन। नेकपा समर्थक प्राध्यापकहरू चुनाव हार्ने डरले निर्वाचन गर्न राजी छैनन्, प्राध्यापक संघको चुनाव नहुनुको कारण यही हो।’