काठमाडौँ – सात बुँदे काठमाडौँ कार्ययोजना पारित गर्दै विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनले दक्षिण एसियामा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा दिगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहहरुलाई सँगसँगै सहकार्य गर्न आग्रह गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा स्थानीय तहहरुसँग सहकार्य गर्दै जिम्मेवारी र अधिकार हस्तान्तरण गरेकाले महत्वपूर्ण उपलब्धीहरु हासिल भएको बताए।
कार्ययोजनामा नेपाल सरकारले स्थानीय तहमा गरेको सुधार र भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा गरेको प्रगतिलाई मनन गर्दै स्थानीय सरकारहरु तथा स्थानीय सरकारका संघहरुलाई राष्ट्रिय कार्यढाँचा अनुकूल आफ्नै विपद् जोखिम न्यूनीकरण नीति तथा रणनीतिहरु बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, सफा र नवीकरणीय उर्जाका प्रावधानहरु सुनिश्चित गर्न जलवायु परिवर्तनका असरहरु न्यूनीकरणका लागि समुदायको सबैभन्दा नजिक रहने स्थानीय सरकारहरुलाई संलग्न गराउनुपर्ने आवश्यकता महसुस गर्न राष्ट्रिय सरकारलाई आह्वान गरिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट–एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, इण्डोनेसिया, श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु एवं विज्ञहरुको सहभागिता थियो।