बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकार लोकतन्त्र मास्न लागिपरेको आरोप लगाएका छन्। उनले प्रेस स्वतन्त्रता लोकतन्त्रसँग जोडिएकाले मिडिया विधेयक फिर्ता गराएरै छाड्नेसमेत दृढता व्यक्त गरे।
उनले प्रेस स्वतन्त्रता नभएमा लोकतन्त्र नै नरहने भन्दै सरकारले ल्याएको मिडिया विधेयक पुरै परिमार्जन गर्नुपर्ने आवश्यकता औँलाए। कपिलवस्तुको चन्द्रौटामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता कोइरालाले सरकारका हरेक क्रियाकलाप लोकतन्त्र सिध्याउने किसिमको रहेको आरोप लगाए।
दुईतिहाइ बहुमतको सरकारले विधेयक पास गरे पनि नेपाली कांग्रेसको सरकार आउँदा विधेयक परिर्वतन गरिने बताए। उनले भने, ‘कांग्रेसले विरोधका लागि विरोध गर्दैन। लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि प्रतिपक्षको सक्रिय भूमिका निर्वाह गर्छ।’
वर्तमान सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कार्यकर्ता पाल्ने काम गरेको उनको आरोप थियो। ‘आफ्ना कार्यकर्ताको भरणपोषणका लागि मात्र सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको छ,’ कोइरालाले व्यंग्य गरे। कांग्रेसले भर्खरै सम्पन्न गरेको जागरण अभियानले नेतालाई जनताको आवश्यकता र चाहानाबारे बोध गराएको उनले बताए। कांग्रेसको स्थानीय तहका वडादेखि केन्द्रसम्मका संरचनालाई मजबुत बनाउनुपर्ने उनको धारणा थियो।