- भरत कोइराला
भारतको बाइसौँ राज्य सिक्किम बनेपछिको छैटौँ मुख्यमन्त्री बनेका प्रेमसिंह तामाङ (पी.एस. गोले)को सरकारलाई काम गर्न नदिन कानूनी–गैरकानूनी दाउपेच लगाउन भर्खरै भूपू भएका मुख्यमन्त्री पवन चामलिङ कम्मर कसेर लागेका छन्। सिक्किम विधान सभाको ३२ सिटमध्ये १७ सिटमा गोलेको पार्टी सिक्किम क्रान्तिकारी मोर्चा र १५ सिटमा चामलिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले विजय हासिल गर्यो। एउटा प्रजातन्त्रवादीका नाताले चामलिङले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्थ्यो तर उनी वहिष्कारवादी सोचबाट अघि बढ्न थालेको सिक्किमेलीहरूको भनाइ छ।
२५ वर्ष लगातार मुख्य मन्त्रीमा रही राज गरेर बाहिरिनुपर्दा चामलिङलाई ठूलै झट्का लागेकै हो। तर, जसरी १५ वर्षे लगातारको नरबहादुर भण्डारीको शासन तोड्न भण्डारीसँगै विद्रोह गरेर आफ्नो पार्टी र सरकार गठन गर्न चामलिङ सफल भएका थिए, त्यसरी नै शिक्षक पदमै रहेका बखत चामलिङले कार्यकर्ता बनाएका गोलेले पनि चामलिङ सरकारको मन्त्री हुँदै विद्रोह गरेर अलग पार्टी खोलेर अहिले आफ्नो सरकार गठन गर्न सफल भएका हुन्।
अहिले आएर चामलिङलाई सत्ताबाट लखेट्ने गोलेको सार्वजनिक शपथ ग्रहण समारोह नै चामलिङले वहिष्कार गरे । अझ यसभन्दा अघि बढेर प्रतिपक्षीको भूमिकामै बस्न नचाहेर हो वा अप्ठेरो मानेर गोले मुख्यमन्त्री रहुञ्जेल आगामी ६ महिनासम्म विधान सभाको बैठक नै वहिष्कार गर्ने चामलिङले उद्घोष गरेका छन्। तर, चामलिङको उद्घोषलाई सिक्किमेलीहरूले पत्याउन सकिरहेका छैनन्। किनभने, चामलिङले सन् १९९३ मा आफ्नो पार्टी खोली गोलेलाई भित्र्याएर १९९४ मै विधान सभा सदस्य तथा उद्योगमन्त्रीसमेत बनाएका थिए।
दुई/दुईपटक विधान सभा सदस्य र दुई अवधि मन्त्री बनेका गोलेले सन् २०१३ मा आएर चामलिङसँग विद्रोह गरी आफ्नै पार्टी सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेर २०१४ को चुनावमा १० सिट ल्याउन सफल भएका थिए। तर, रातातरात १० मध्ये ५ जना सांसदलाई चामलिङले आफ्नो पार्टीमा भित्र्याएपछि गोलेलाई ठूलै झट्का पर्न गएको थियो तर पनि गोले हिम्मत नहारी जनसेवामा सक्रिय भएर लाग्दा अहिले सफल हुन पुगेका हुन्।
गोलेको पार्टीले एउटा सिटमा दुई व्यक्ति दुई ठाउँबाट र चामलिङको पार्टीले दुई व्यक्ति दुई ठाउँबाट चुनाव लडेका थिए। अब ६ महिनापछि यी तीनवटा सिटमा पुनः चुनाव हुनेछ। यसमा भने गोलेलाई चामलिङले अप्ठेरो पार्ने अवस्था देखिन्छ। लामो समय सिक्किमको मुख्यमन्त्री बनेका चामलिङसँग पैसाको कुनै कमी छैन। साम, दाम, दण्ड, भेदको नीति अवलम्बन गरेर उपचुनावबाट पुनः चामलिङ सत्तामा आउने सम्भावना पनि त्यत्तिकै छ र चामलिङ त्यही अवसरको प्रतीक्षामा देखिन्छन्।
निवर्तमान मुख्यमन्त्री चामलिङ।
चामलिङको विधान सभा वहिष्कारबारे उनको आफ्नो तर्क छ। गोले मन्त्री भएको बखत उनले भ्रष्टाचार गरे भन्ने आरोप लगाएर सन् २०१४ मा चामलिङले गोलेलाई १ वर्ष जेल हालेका थिए। उनले यही विषयलाई देखाएर गोलेलाई अयोग्य र भ्रष्टाचारी बताउँदै आएका हुन्। तर, भारतको संविधानअनुरूप ६ महिनाभित्र निर्वाचित भएर आए भने मुख्यमन्त्रीको पद कायम रहने गरी गोलेलाई राज्यपालले मुख्यमन्त्री पदको शपथ गराएका छन्।
शुरुदेखि नै यस प्रक्रियाको विरोध गर्दै आएका चामलिङलाई यस घटनाले ठूलै धक्का लाग्न गएकाले त्यो ६ महिनाको अवधि तोकेका हुन्। त्यसो त गोले भ्रष्टाचारमा मुछिएर अदालतले प्रमाणित गरेको भए उनी मुख्यमन्त्री बन्न पाउने नै थिएनन्। चामलिङले गोलेप्रति लगाएको आरोप त्यसै पनि मिथ्या सावित भएको देखिन्छ। त्यो ६ महिने बहिष्कारको अवधि तोक्ने चामलिङको अर्को पनि आन्तरिक तर्क देखिन्छ।
त्यो तर्क के रहेछ भने अहिले भएको निर्वाचनमा चामलिङ र उनका एक सहयोगी दुई/दुई ठाउँबाट र गोलेका पनि एक सहयोगी अर्को एक ठाउँबाट विजयी बनेका छन्। आगामी ६ महिनाभित्र यी ३ सिटका लागि निर्वाचन हुनेछ। २ सिटको कमीले गर्दा चामलिङ बाहिरिनु पर्यो। चामलिङ आफै र आफ्नै सहयोगी दुई ठाउँबाट जितेको स्थानमा पुनः विजयी हुन सकियो भने सत्ता स्वतः आफ्नै हातमा आइहाल्नेछ भनेर पनि उनले वहिष्कार गरेका हुन् भन्ने अनुमान सिक्किमेहरूको छ।
यो नीति काम नलागेमा यसअघिका गोलेका ५ जना सांसदलाई आफ्नो पक्षमा ल्याएजसरी नै बहुमत सांसद पु¥याउन गोलेको पार्टीबाट तीन जना सांसद आफ्नो पक्षमा ल्याउनसक्ने सम्भावना पनि छ। तर, सिक्किमे जनता कति जागरुक र चलाख भइसकेका रहेछन् भने त्यसरी गोलेको पोल्टाबाट साम, दाम दण्ड, भेदको नीतिबाट चामलिङको पोल्टामा पुग्ने पाँचै जनालाई यस पटकको चुनावमा चामलिङले टिकट दिएका थिए तर सिक्किमे जनताकै भनाइमा जनताले उनीहरू सबैलाई नराम्ररी धुलो चटाइदिए। सिक्किममा अथाह सम्पत्ति छ, सबै जसोसँग खास गरेर २५ वर्ष लगातार शासन गर्नेहरूसँग त झन् पैसाको के कम होला र?
सांसद इन्द्रहाङ लिम्बू।
अर्को गजब के भएको छ भने २५ वर्षसम्म लगातार एकमात्र लोकसभा सिटमा चामलिङले आफ्नो कार्यकर्तालाई पठाउने गरेको थिए भने यसपटक गोलेका कार्यकर्ता ३१ वर्षीय इन्द्रहाङ लिम्बू सांसद बनेर लोकसभा पुगेका छन्। तर, यसपटक चामलिङले जस्तोसुकै नीति अवलम्बन गरे पनि गोले पक्षबाट जितेर आएका विधान सभा सदस्य विगतझैँ पोइला जाने कुरा चैँ आलिक असम्भव नै देखिन्छ। किनभने, गोलेलाई मोदी सरकारको राम्रै आशीर्वाद प्राप्त भएको बुझिन्छ। तर, विधानसभाको आगामी उपनिर्वाचनमा भने २५ वर्षे शासनको परिणामको प्रभाव के कस्तो हुने छ, त्यतिबेलै देखिनेछ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले अहिले ११ जनालाई मन्त्री बनाएका छन् भने उनका छोरा आदित्य गोले यसपटक सांसद पदमै रहने देखियो। गोलेका मन्त्रीहरूमा कुंगा लेप्चा, सोनम लामा, डा. मणिकुमार शर्मा, कर्मा भुटिया, संजित खरेल, लोकनाथ नेपाल, अरुण उप्रेती, भीमहाङ लिम्बू, एम.एन. शर्मा र सान्दुप लेप्चा रहेका छन्।
गोलेले आफ्नो सरकार बन्नेबित्तिकै ३ महत्त्वपूर्ण निर्णय गरेका छन्। ती हुन्– अब मुख्यमन्त्रीलगायत सबै मन्त्रीले सस्तो गाडी स्कर्पियो मात्र चढ्ने, मन्त्रीका अघिपछि रातो बत्ती बालेर स्कर्टिङ नदिने र अब सधैँका लागि शनिबार बिदा दिने। अर्को कुरा, मुख्यमन्त्री गोलेले जनतालाई भने– मलाई शासन गर्ने अरूजस्तो २५ वर्षको अवधि माग्दिन र चाहिँदैन पनि। मलाई ५ वर्ष भए पुग्छ। त्यो अवधिमा जनआकांक्षाअनुसार काम गरेर देखाउन सक्ने लक्ष्य लिएको छु।
पूर्व मुख्यमन्त्री चामलिङले विधानसभा बहिष्कार गरेको कुरालाई वर्तमान मुख्यमन्त्री गोलेले भने चामलिङले हार स्वीकार्न नसकेको र जहिले पनि सत्तामै बसिरहन चाहेको देखिन्छ। सिक्किमे जनताले सरकार बनाउन मेरो पार्टीलाई बहुमत दिएको र राज्यपालले संवैधानिक अधिकारबमोजिम सरकार गठन गरेको हो। यो वहिष्कारवादी नीति हेर्दा लाग्छ, चामलिङजीले प्रजातन्त्र र देशको संविधानलाई नमान्ने भनेको त होइन? चामलिङले त ६ महिना एउटा चुनावी आधारमात्र भएको बताउँदै आफ्नो पार्टी अफिसमा पत्रकार सम्मेलन नै गरेर गोले मुख्यमन्त्री रहुञ्जेल विधान सभा नै वहिष्कार गर्ने घोषणा गरेका छन्। गोलेले भने, संविधानमा भएको प्रावधानबमोजिम म मुख्यमन्त्री भएको हुँ र त्यो संवैधानिक प्रावधान नमान्नु भनेको त संविधान र प्रजातन्त्र नै नमान्ने भनेको होइन र?
भाइचुङ भुटिया।
सिक्किमको निर्वाचनमा यसपटक अर्को एउटा अचम्म के भयो भने सिक्किमका पुत्र भनी उपनाम पाएका अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी भाइचुङ भुटिया आफ्नै पार्टी खोली राजधानी गान्तोकको सिटबाट विधान सभा सदस्यको पदमा लडेका थिए। तर, अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल ८२ वटा खेल्दा २७ गोल मात्र गर्न सकेका भुटियाले जम्मा ७० मत मात्र पाए। उनी भन्ने गर्थे– मैले कुनै व्यक्तिको विरोधमा पार्टी खोलेर चुनाव लडेको नभई सिक्किममा बढ्दो भ्रष्टाचार र कालो धनको दबदबा देखेर सेतो र कालो धन छुट्याउनका लागि चुनावी राजनीतिमा होमिएको हुँ।
अन्तर्राष्ट्रिय स्तरमै फुटबल खेलमा राम्रै स्तर बनाउन सफल भुटियाको अर्को राजनीतिक पाटो के रहेको थियो भने उनको लोकप्रियतालाई भजाउन बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो पार्टी तृणमुल कङ्गे्रसका तर्फबाट सन् २०१४ मा सम्पन्न लोकसभाको निर्वाचनमा दार्जिलिङ सिटबाट उम्मेदवार बनाएकी थिइन्। गोर्खेहरूले दिदी पक्षधर भुटियालाई भोट दिने त कुरै भएन, केही जातीय र आफन्तको मत प्राप्त गरेर त्यतिखेर चित्त बुझाउनु परेको थियो।
को हुन् पी.एस. गोले?
उनको असली नाम प्रेमसिंह तामाङ हो। तामाङलाई गोले भनिँदो रहेछ। गोले उपनामले नै उनी चर्चित हुन पुगे। ५१ वर्षीय गोलेको प्राथमिक शिक्षा सिक्किममै भएको थियो। उनी उच्च शिक्षाका लागि दार्जिलिङ गएका थिए। उच्च शिक्षाको अध्ययनपश्चात् सिक्किममै शिक्षण पेशामा संलग्न रहेका गोलेलाई सन् १९९३ मा चामलिङले आफ्नो पार्टीमा प्रवेश गराएका थिए। यो कुरा थाहा पाएर तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीले गोलेलाई शिक्षक पदबाटै निकालेका थिए। त्यसपछि चामलिङकै पार्टी एस.डी.एफ.को पूर्णकालीन कार्यकर्ता भएर काम गर्दागर्दै दुई/दुईपटक विधानसभा सदस्य र चामलिङकै सरकारका मन्त्रीसम्म हुन पुगेका थिए।
नवनिर्वाचित मुख्यमन्त्री गोले।
पूर्वमुख्यमन्त्री चामलिङको लगातारको २५ वर्षे शासनबाट जनता वाक्क यस अर्थमा भएका थिए कि अन्य राज्यमा हरेक पटक सरकार फेरिन्छ। हाम्रो त सधैँजसो नै चामलिङ सरकार ! अब कति वर्षसम्म एउटै व्यक्तिको सरकार रहिरहने? अझ यसभन्दा अर्को रोचक कुरा के हुन पुग्यो भने युवा पुस्ता जो ४० वर्षमुनिका छन्, तिनीहरूले त चामलिङबाहेक अर्को व्यक्तिको नाम मुख्यमन्त्रीमा सुन्न–देख्न नै पाएका थिएनन्। त्यो वर्ग पनि परिवर्तनको पक्षधर थियो भने त्यस्ता वर्गका लागि समेट्न सक्ने कुनै खास कार्यक्रम र योजना प्रस्तुत गर्न नसक्दा चामलिङको पराजय भएको अधिकांश सिक्किमेहरूको भनाइ छ।