काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिएको छ ।
सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको 'सदस्यता व्यवस्थापन केन्द्रीय समिति'को बैठकले सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई सहज तथा द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ ।
महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षता र महामन्त्री गगनकुमार थापाको उपस्थितिमा बसेको बैठकले कोशी प्रदेशमा डा. डिला संग्रौला, मधेशमा देवराज चालिसे, बागमतीमा बहादुर सिंह लामा र गण्डकीमा मुक्ताकुमारी यादवलाई अनुगमनको जिम्मेवारी तोकेको छ ।
त्यसैगरी, लुम्बिनी प्रदेशको कमाण्ड अमरसिंह पुन, कर्णालीको जानकी सिंह र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी उदय शमशेर राणालाई दिइएको छ ।तोकिएका प्रतिनिधिहरूले प्रदेशका सबै संगठनात्मक संरचनाहरूको प्रयोग गरी सदस्यता अद्यावधिक कार्यको प्रभावकारी अनुगमन गर्नेछन् ।