- श्रीविलास दाहाल
मेचीपारिका नेपाली भन्नाले साहित्य फाँटमा चैँ प्रायः दार्जिलिङ, आसाम र पछि सिक्किममा पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी र पवन चामलिङ भएपछि सिक्किम पनि चर्चामा आउन थाल्यो। भुटान, मणिपुर, बर्मा अझै पनि राम्रै चर्चामा छन्। पत्रकार पोर्नेलले अलि अलि कलम चलाउँदै छन्, त्यो प्रशंसनीय छ। उनको उत्साह नमरोस्।
भारतका अन्य प्रान्तमा पनि नेपालीको बसोबास छ। मिजोरम, त्रिपुरा, मेघालयतिरका साहित्यिक र सामाजिक समाचार नआए पनि कहिलेकाहीँ उत्पीडनका कथा आउँछन्। उत्पीडन र पलायनका थोक कथा भुटान, आसाम, अलि अलि बर्मातिरबाट पनि आउँछन्। सन् ७०—७१ तिर राजा महेन्द्रले बर्माको मेम्योको मन्दिरको पूजा सकेपछि भगवती दुर्गालाई दक्षिणा, पशुपतिनाथ र गौतम बुद्धका प्रतिमूर्तिहरू चढाएपछि बर्माका नेपालीलाई नेपाल फर्कन आह्वान गरे।
त्यही आह्वानअनुरूप नेपाल फर्केका बर्मेलीहरूलाई बसाउने र वंशजका नाताले नागरिकता प्रदान गर्ने काम पनि भयो। बर्माबाट छिटफुट आफ्ना नातागोता खोज्दै आउने क्रम अझै रोकिएको छैन। केही फेरि उतै फर्कन पनि थाले। यो बसाइँसराइको क्रम, पहाडबाट तराई र तराईबाट भारत हुने क्रम रोकिएला जस्तो छैन। संसारभर फैलिएका नेपालीको श्रम, सीप, सम्पत्ति र अधिकार नेपालमा अवाध रूपमा नै रहोस् भनेर ‘एनआरएन’ले प्रयास गरिरहेको छ।
स्वर्गीय राजा महेन्द्रको आह्वानअनुरूप नेपाल फर्केका बर्मेलीलाई बसाउने क्रममा कतै पहाडबाट तराई झरेका र कतै स्वतन्त्र बर्मेली बसोवास गराउने कार्यक्रम भए, कतै नेपाल सरकारकै प्रयासमा र कतै विदेशी दातृ राष्ट्रको सहयोगमा यो काम सम्पन्न भएको हो। अब फेरि ती जग्गाजमिनको स्वामित्व पाएपछि बसाइँसराइ थालिएको छ।
उत्पीडन र पलायनका थोक कथा भुटान, आसाम, अलि अलि बर्मातिरबाट पनि आउँछन्। सन् ७०—७१ तिर राजा महेन्द्रले बर्माको मेम्योको मन्दिरको पूजा सकेपछि भगवती दुर्गालाई दक्षिणा, पशुपतिनाथ र गौतम बुद्धका प्रतिमूर्तिहरू चढाएपछि बर्माका नेपालीलाई नेपाल फर्कन आह्वान गरे।
बर्माबाट आएका बर्मेली पूर्वमा काँकरभिट्टाको सीमामा जग्गा दिएर बसाइए भने भद्रपुर जलथलसम्मको चारकोसे झाडी मासेर पुनर्वास कम्पनीले बसायो। केही मान्छे आफूले लुकाएर ल्याएको सम्पत्ति बेचेर दमकसम्म घर–घडेरी किन्न सफल भए। मोरङमा रंगेलीको छेउ चुनीमारी र सिंगारी आदि ठाउँमा बसाइयो। त्यसबखत चारबिघा जमिन दिइएको थियो, त्यसको सदुपयोग पनि गरेकै हुन्।
त्यसपछि पश्चिमतिर नवलपरासी र रूपन्देहीमा बसोबासको व्यवस्था गरियो। भैरहवामा बर्मेली कोलनी र बर्मेली चोक बडो उत्साहले निर्माण गरेका थिए। पछि एउटा टोललाई बर्मेली टोल पनि भनियो। त्यसपछि बुटवल बजारमा पनि बर्मेली सक्रिय बन्द व्यापार गरेर बसोवास गर्दथे। त्यसपछि माथि पहाडतिरबाट आउने धेरैले बुटवललाई झन् गुल्जार गराए। नारायणगढतिर भने बर्मेलीको बसोबास सरकारी तवरबाट भएको पाइँदैन।
त्यसपछि कैलाली जिल्लाको जुगेडामा बर्मेलीहरूलाई बसोबास गराइयो। राजनीतिक पीडितलाई पनि त्यहाँ बसाइयो। पछि राजनीतिक पीडित त्यहाँबाट विस्थापित भए। हाल कैलालीको अत्तरियामा बर्मेली प्रशस्त भेटिन्छन्। कञ्चनपुरको छेउछाउ र महेन्द्रनगर बजार पनि बर्मेलीहरूले आवाद गराएका हुन् भन्दा अन्युक्ति नहोला?
सबैभन्दा व्यवस्थित र वैज्ञानिक हिसाबले बसोबास गराइएको चैँ बाँकेको खजुरा र गौघाट हो। इजरायल सरकारले प्लानिङ गरेर बसाएको थियो। पछि पुनर्वास कम्पनी पनि सहयोगी भयो। अब त यातायातको सुविधा, तराईमा औलो उन्मूलन र अन्य विकासका कार्य, सिँचाइ व्यवस्था आदिले सबै नेपालमा दूधमा पानीझैँ मिलेर बसेका छन्। एकाध मात्र पुस्ताको अन्तर भएकाले पहाडतिर पनि पसे कति त!
जेजस्तो आरोप लाए पनि नेपालीहरू भुटानको विकासनिर्माणमा नै सहयोगी थिए। बाटो खन्न आएका नेपाली मजदूर भनेर कोलकाताका बुद्धिजीवी भनिने भारतीयले खिल्ली उडाए। भारतीय पनि त मरिसस, गुयाना, फिजी, ट्रिनिडाडतिर उखु काट्न गएका मजदूर न हुन्। आज त्यहाँको सत्तामा छन्।
नेपालीको बर्मा जाने क्रम, दार्जिलिङ, आसाम र मणिपुरतिरबाट पशुपालन गर्दै गाईभैँसीका हाँच र बथान चराउँदै ब्रह्मपुत्र नदीको फाँट र बाढी तर्काउँदै ऐरावती नदीका फाँटमा पुगेका हुन्। कोलकाताबाट समुद्री मार्ग भएर सुन कमाउन, रुबी माइण्डमा हरिया पत्थर खोज्न पुगेका हुन्। द्वितीय विश्वयुद्धमा ब्रिटिसका तर्फबाट जापानसँग लड्न पनि गोरखा बटालियनहरू बर्मा पुगेर उतै बसे, नेपाल फर्केनन्।
हिजोआज प्रस्ट तथ्यांक प्राप्त नभए पनि हालको म्यानमा (बर्मा)मा तीन लाख नेपाली बसोबास गर्दैछन् भन्ने छ। पेशा धेरैजसो पशुपालन हो। अब जंगल चीनले समाप्त पारेपछि मिचिना जिल्लातिर पशुपालन असम्भव भएको छ भन्ने कुरा आएको छ। माण्डलेमा व्यापार, मेम्योमा दूध घ्यू डेरी उत्पादन, मोगोकमा रुबी माइण्ड, नामटू र बोटिनमा सुन चाँदी खानी, नेपालमा लुकीचोरी गाँजा खेती गरेजस्तै त्यहाँ अफिम खेती गर्ने चलन पनि छ। म्यानमार सरकारले मान्यता भने बुद्धधर्म मान्ने गोरखाजाती भनेर दिएको छ।
मेचीपारिका नेपालीमध्ये ‘थोक’मा राज्यद्वारा दुःख दिएको चैँ भुटानले नै हो। त्यत्रो लाखौँको संख्यामा आएका नेपालीलाई झापाले शरण दियो। जेजस्तो आरोप लाए पनि नेपालीहरू भुटानको विकासनिर्माणमा नै सहयोगी थिए। बाटो खन्न आएका नेपाली मजदूर भनेर कोलकाताका बुद्धिजीवी भनिने भारतीयले खिल्ली उडाए। भारतीय पनि त मरिसस, गुयाना, फिजी, ट्रिनिडाडतिर उखु काट्न गएका मजदूर न हुन्। आज त्यहाँको सत्तामा छन्।
भुटानका नेपाली पश्चिम बंगाल र आसामको सीमाका काँठ र फाँटमा खेती गरेर बसेका थिए। मैदान जति त ब्रिटिसका पालामा सबै बगानका लागि चिया रोपणका निम्ति लिइसकेको थियो। हिमालका भोटेलाई तलको जमिन चाहियो।
भारतीय प्रान्तका आपसी द्वन्द्वमा आसाम र नागाल्यान्डमा कहिलेकाहीँ नेपाली पनि परेका छन्। नेपालको आफ्नै यो राजनीतिक किचलोले मेचीपारिका हाम्रा पूर्खाहरूप्रति ध्यान दिन सकिरहेका छैनाैँ। राष्ट्रिय हिसाबले आफ्नो कर्तव्य निर्वाह गरे पनि, जातीय गौरव र सांस्कृतिक, भाषिक हिसाबले नेपालसँग जोड्नु हाम्रो कर्तव्य हो।
मेचीपारिको दार्जिलिङ र कालेम्पोङ जिल्लामा बसोबास गर्ने नेपाली आफूलाई गोर्खाली भन्न रुचाउँछन् र उनीहरूले एउटा आन्दोलन नै चलाएका छन्– दार्जिलिङलाई गोर्खाल्यान्ड प्रान्त बनाउने आन्दोलन। यो आन्दोलन सशक्त रूपमा पहिले सुभाष घिसिङले चलाए। पछि गएर ‘गोर्खा पार्वत्य परिषद’मा यो आन्दोलन टुंगियो। यो आन्दोलन फेरि पनि जागेको छ। नागाल्यान्डपछि यो क्षेत्रमा गोर्खाल्यान्ड हुन्छ हुँदैन, थाहा छैन। तेलांगनापछि भारतमा यो गोर्खाल्यान्ड आन्दोलन नै एउटा आन्दोलन हो समाधान हुन बाँकी। आसाममा ‘बोडोल्यान्ड’ भनेर पनि निस्किएको छ।
नेपाली भाषालाई भारतीय संवैधानिक मान्यता प्राप्त गर्न चालेको आन्दोलनमा आसाम, दार्जिलिङ, देहरादुन र सिक्किम सबै संयुक्त थिए। सिक्किम प्रान्तको तत्कालीन सांसद श्रीमती दिलकुमारी भण्डारी र उनका पति तत्कालीन मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको ठूलो योगदान रहेको हो।
मणिपुरमा नेपालीहरूको बसोबास कति छ? त्यो भने थाहा छैन। तर, मणिपुरमा नेपालीहरू प्रान्तीय सांसद, सीडीओ र सेनाका उच्च अधिकृत पदमा क्रियाशील छन्। कलेजका प्राध्यापक टंकनाथ खतिवडा नेपालको जनमत संग्रहमा लहानमा क्रियाशील थिए र लाठी पनि खाएका हुन्। मणिपुरका अनिरुद्ध काठमाडौँमा क्रियाशील पत्रकार छन्। समस्या खास देखिँदैन।
भारतीय प्रान्तका आपसी द्वन्द्वमा आसाम र नागाल्यान्डमा कहिलेकाहीँ नेपाली पनि परेका छन्। नेपालको आफ्नै यो राजनीतिक किचलोले मेचीपारिका हाम्रा पूर्खाहरूप्रति ध्यान दिन सकिरहेका छैनाैँ। राष्ट्रिय हिसाबले आफ्नो कर्तव्य निर्वाह गरे पनि, जातीय गौरव र सांस्कृतिक, भाषिक हिसाबले नेपालसँग जोड्नु हाम्रो कर्तव्य हो। भारतमा रहेका नेपालका राजदूतले यो काम गर्नुपर्ने हो। नेपाली साहित्य क्षेत्रबाट केही काम भएका छन्। मेचीपारिका हाम्रा नेपालीलाई नेपालले चटक्कै विर्सनु हुँदैन।