काठमाडौंँ, ३० पुस -सरकारले पूर्वप्रधानमन्त्रीद्वय तथा कांग्रेसका पुर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोल्न लागिएका दुई वटा अस्पताल खारेजीको प्रक्रियामा लगेपछि कांग्रेसले यसप्रति गम्भीर आपत्ति जनाएको छ।
स्वास्थ्य मन्त्रालयले निर्माणाधीन तनहुँको दुलेगौँडास्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल खारेजीको प्रक्रियामा लगिसकेको छ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला भएको भारत भ्रमणका क्रममा भारत सरकारले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल निर्माणका लागि सहयोग गर्ने बताएको थियो। उक्त अस्पतालका लागि सात सय रोपनी जग्गा प्राप्त भइसकेको छ।
सरकारले देशभरका ११ वटा अस्पताललाई केन्द्रको मातहतमा ल्याउने तयारी गरिरहँदा नेपाली कांग्रेसका कांग्रेस नेताहरू गिरिजा र सुशीलको नामका निर्माणाधीन अस्पताल पनि खारेजीमा पर्न लागेकाे हाे।
वरिष्ठ नेता रामचन्द्र पाैडेलले वर्तमान सरकार नेपाली कांग्रेसकाे अस्तित्व नै निमिट्यान्न पार्ने षड्यन्त्रमा लागेकाे आरोप लगाएका छन्।
नेता पौडेलले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने, यो सरकार कांग्रेसको अस्तित्व नै समाप्त पार्ने षड्यन्त्रमा लागेको छ, यसका लागि नेपाली कांग्रेस कठोर रुपमा उत्रन्छ, हामी सरकार र सदन दुवैबाट यसको प्रतिवाद गर्छाैँ।