जनकपुरधाम, ३० पुस – प्रदेश नम्बर–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवलाई कारवाहीको माग गर्दै कर्मचारीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई २४ घण्टे अल्टिमेटम दिएका छन्।
मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाउँदै प्रदेश दुईका कर्मचारीहरुले यादवलाई कारवाही गर्न माग गरेका हुन्। कालोपट्टी बाँधेर विरोध जनाउँदै सोमबार मन्त्रालयमा पुगेका कर्मचारीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने मन्त्रीलाई कारबाही गर्न माग गरेका हुन्।
२४ घण्टे अल्टिमेटम दिँदै ट्रेड युनियन कार्य समिति धनुषाले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको छ।
यसैगरी, कर्मचारीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई पनि सोमबारै ज्ञापनपत्र बुझाएका छन्। कर्मचारी कुट्ने मन्त्रीलाई कानुनी कारवाहीको माग गर्दै सम्पूर्ण कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिन ज्ञापनपत्रमार्फत माग गरिएको छ।
मधेशी निजामती कर्मचारी मञ्चका महासचिव बेचनकुमार महतोले मुख्यमन्त्री राउतले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। साथै घटनाको न्यायिक छानबिन गर्ने आश्वासन मुख्यमन्त्रीले दिएका छन्।
दोषीलाई कारवाही नभएमा विरोध प्रदर्शनको कार्यक्रमलाई परिमार्जन गरी सशक्त दवावमूलक आन्दोलनमा जाने महतोले बताए।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले नेपाली पब्लिकसँग कुरा गर्दै घटनाको व्यवस्थापन भइरहेको बताए।
प्रहरीले सचिव झाको घा–जाँच गरिसकेको बताउँदै कँडेलले भने, ‘कर्मचारीहरुले दोषीमाथि कारवाही र कर्मचारीको सुरक्षाको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्।’