पोखरा - नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले सरकारले संवैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवादतर्फ अगाडि बढ्न खोजेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा.महतले दुई तिहाईको बलमा अधिनायकवादतर्फ सरकार उन्मुख भएको आरोप लगाए।
उनले वर्तमान सरकार अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचार गर्न अग्रसर भएको बताए। ‘अर्बौं रुपैयाँ भ्रष्टाचार भएका मुद्दाहरू बाहिर आउँदासमेत अख्तियारलगायतका संस्था मौन बसेका छन्,’ उनले भने, ‘उनीहरूको मौनताले सरकारको हस्तक्षेप प्रष्टिएको छ।’
पूर्वमन्त्रीसमेत रहेका महतले भ्रष्टाचारमा आफ्नै पार्टीका सभापतिको संलग्नता भए पनि छाड्न नहुने उनको भनाइ थियो। ‘भ्रष्टाचारमा सरकार आफैँ संलग्न छ, उसले छानबिन समिति बनाउने त कुरै भएन, भ्रष्टाचार गर्ने मन्त्री र नेताको समेत बचाउ गर्छ,’ उनले भने, ‘तर भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पनि मौन बस्नु विडम्बना नै हो।’
सह-महामन्त्री महतले प्रधानमन्त्री ओलीले कुरा मात्रै गर्ने, काम नगर्ने प्रवृत्ति देखिएको बताउँदै आमजनताले वर्तमान सरकारबाट समृद्धिको आशा गर्नु ठूलो भूल हुने बताए। सरकारबाट जनताले जुन आशा गरेका थिए, त्यो पूरा हुन् नसक्ने उनले दाबी गरे।
नेता महतले अहिलेकै अवस्थामा दुई अंकको आर्थिक वृद्धि हुन नसक्ने बताउँदै भने, ‘देशमा असुरक्षा, मजदुर आन्दोलन, लगानीमैत्री वातावरणसमेत छैन। लगानीकर्ताले नेताको व्यक्तिगत सेवा शर्त पूरा गर्नुपर्ने भएकाले विदेशी लगानीको सम्भावना पनि छैन।’ उनले पार्टीको आन्तरिक निर्वाचन समय आएपछि हुने भन्दै अहिले नै निर्वाचनका लागि ढोल पिट्ने बेला नभएको बताए। उनले पार्टीलाई बलियो बनाउन जागरण अभियानले ठूलो भूमिका खेलेको बताए।