पोखरा - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव माओवादीका’ १८ नेता तथा कार्यकर्तालाई प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ गरेको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा शनिबार राति बैठक बसिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारीसहित ‘आक्रोश’ भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत छन्।
घान्द्रुक क्षेत्रमा विप्लव माओवादीका कार्यकर्ताको गतिविधि बढेको जानकारी आएपछि प्रहरीले चासो दिएको थियो। सोही आधारमा लामो दुरीको गस्ती गरेर उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु एक सामुदायिक भवनमा बसेर छलफल गरिरहेका थिए।
पक्राउ परेकालाई राति नै कास्की प्रहरी कार्यालयमा ल्याइएको छ। नियन्त्रणमा लिइएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखेर थप अनुसन्धान भइरहेको छ।