काठमाडौँ - नेपाली कांग्रेसले गत वैशाख २५ गतेदेखि सुरु गरेको जागरण अभियानअन्तर्गत पहिलो चरणको अभियान समापन गरेको छ। शनिबार लमजुङको दूधपोखरीमा सम्पन्न कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त गरिएको लोकतन्त्र संकटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरे।
देउवाले भने, ‘वर्तमान सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवअधिकारमा हस्तक्षेप गरेको छ। सवै ठाउँमा हस्तक्षेप छ। वर्तमान सरकार लोकतन्त्रको विरुद्धमा लागेको छ।अब लोकतन्त्र जोगाउन सबै नेपाली एक हुनुपर्छ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा शान्ति स्थापना र संविधान ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खलेको भन्दै कसैले पनि भ्रम नछर्न आग्रह गरे। कांग्रेसले शान्ति र संविधानको अभिभारा पूरा नगरेको भए अहिलेसम्म द्वन्द्व रहिरहन्थ्यो। नेपाल कहाँ पुग्थ्यो ?’ उनले भने, कांग्रेसका कारण स्वतन्त्रता पाएका नागरिकले कम्युनिष्टका कारण स्वतन्त्रता गुमाउँदैछन्।’ वर्तमान सरकारले अधिनायकवाद लाद्न खोजेको उनको आरोप छ।
शनिबार कांग्रेस जिल्ला केन्द्रीत जागर अभियान समापन गरेको प्रवक्ता शर्माले जानकारी दिएका छन्। जिल्ला केन्द्रित जागरण अभियानमा पार्टीको तल्लो तहभन्दा नेतृत्व पंत्तिका नेताका कारण कांग्रेस कम्जोर बनेको कार्यकर्ताको भनाई छ। कांग्रेसले दोस्रो चरण अन्तर्गत आगामी भदौ २४ गतेदेखि असोज (प्रदेश निर्वाचन क्षेत्र केन्द्रित) १० गतेसम्म सञ्चालन गरिने प्रवक्ता शर्माको भनाई छ। त्यस्तै तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ गतेसम्म (गापा/नपा) केन्द्रित चल्ने छ।
प्रवक्ता शर्माका अनुसार जिल्ला केन्द्रित जागरण अभियान अन्तर्गत ७७ जिल्लामा करिब एक हजार कार्यक्रम सम्पन्न भएका छन्। कांग्रेसका केन्द्रीय नेताहरूलाई स्थानीय नेता तथा कांग्रेस शुभेच्छुकले पार्टीको केन्द्र भताभुङ्ग बनेको र सच्चिन सुझाव दिएका छन्। संसदमा प्रतिपक्षको भूमिका प्रभावकारी बनाउन उनीहरूको आग्रह छ। भ्रष्टाचारको बारेमा जोडले आवाज उठाउन सुझाव दिएका छन्।