काठमाडौँ, ३० पुस – थाइल्यान्डमा जारी थाइल्यान्ड महिला टी–२० स्मास क्रिकेट प्रतियाेगिता मा नेपाली महिला टोली लगातार तेस्रो खेलमा पनि विजयी भएको छ। सोमबार सम्पन्न खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले अन्तिम ४ मा स्थान पक्का गरेकाे हाे।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो। यो जितसँगै समुह ए काे एक खेल अगावै नेपालले सेमीफाइनलकाे यात्रा तय गरेकाे हाे।
नेपालको जितमा ओपनर काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। जसमा सीताले ३५ बलमा ४ चौका प्रहार गर्दै ३७ रनको महत्वपूर्ण योगदान दिइन्।
त्यस्तै काजलले ४२ बलमा २४ रन जोडिन्। इन्दु बर्मा १३, डोली भट्ट ७, कप्तान रुविना क्षेत्री वेलवासे १० र नेरी थापा ६ रनमा नटआउट भए। युएईका लागि ईशा ओझा र हुमीरा तास्नेम, चामणी सेनेविरत्नेले समान एक विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ। ग्रुप ‘ए’ मा नेपालसहित युएई, चीन, थाइल्यान्ड ए र मलेसिया छन्। त्यस्तै ग्रुप बि मा थाइल्यान्ड, हङकङ, इन्डोनएसिया, भुटान, र म्यानमार छन्। समुहका शीर्ष दुई टोलीले अन्तिम ४ मा स्थान बनाउने छन्। नेपालले समुह चरणको अन्तिम खेल थाइल्यान्ड ए सँग बुधबार खेल्नेछ।