पोखरा - नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले केपी नेतृत्वको नेकपाको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानअन्तर्गत कास्की कांग्रेसद्वारा शनिबार आयोजित प्रथम चरणको समापन कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘सरकारमा रहेका मन्त्रीले भष्ट्राचार गर्छ, तर सरकार उनीहरूको प्रतिरक्षामा उत्रिन्छ,’ सहमहामन्त्री महतले भने वर्तमान सरकारले संस्थागत भ्रष्टाचारको बाटो अँगालेको छ। वर्तमान सरकारका मन्त्री तथा नेताले लाखमा होइन, करोड र अर्बको भष्ट्राचार गरिरहेको आरोप उनको छ।
‘केपी नेतृत्वको नेकपा सरकार आफैँ अनियमितता गर्छ, अनि आफ्नै नेतालाई छानबिन समितिमा राख्छ, अनि कसरी कारबाही हुन्छ ?,’ महतले भने। नेता महतले वर्तमान सरकारले प्रेसमाथि आक्रमण गरी अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजे पनि प्रेस स्वतन्त्रताप्रति नेपाली कांग्रेस प्रतिवद्ध छ र उक्त विधेयक पारित हुन कांग्रेसले नदिनेसमेत बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कास्की प्रतिनिधि अर्जुनप्रसाद जोशीले जागरण अभियानले नयाँ सन्देश दिएको बताए। ‘अभियानमा केन्द्र तात्न ढिला गर्यो तर गाउँ पहिले नै जागिसकेको रहेछ,’ उनले भने, ‘वर्तमान सरकारको वितृष्णाले गाउँगाउँका जनताले कांग्रेस खोजेका छन्।’
पोखराको पृथ्वीचोकबाट शुरू भएको र्याली नयाँबजार, महेन्द्रपुल हुँदै चिप्लेढुंगास्थित बीपी चोकमा पुगेर सभामा परिणत भएको थियो। वैशाख २५ गतेबाट शुरू भएको पहिलो चरणको अभियान देशका ७७ वटै जिल्लामा एक महिना चलेको थियो। शनिबार देशभर नै विविध कार्यक्रमको आयोजना गरेर प्रथम चरणको जागरण अभियान कार्यक्रम समापन गरिएको छ।