काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले पार्टी नेतृत्व र सरकारका क्रियाकलापमाथि खुलेर आलोचना गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।
राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बलराम स्मृति प्रतिष्ठान, नेपालले आयोजना गरेको बलराम उपाध्यायको १५औँ स्मृति दिवस कार्यक्रममा बोल्दै नेता गौतमले यस्तो आग्रह गरेका हुन्।
पुष्पलाल र बलराम नेपाली कम्युनिष्ट आन्दोलनको अमर योद्धा भएको बताउँदै नेता गौतमले भने, ‘बलरामलाई सम्झिँदा पुष्पलाललाई बिर्सिनु हुँदैन। पुष्पलाललाई सम्झिँदा बलरामलाई भुल्नुहुँदैन। बलराम दाइले जीवनभर पुष्पलाललाई सहयोग गर्नुभयो। पुष्पलालले कहीँनेर गल्ती गर्दा खुलेर आलोचना गर्नुभयो। पुष्पलालले आलोचनालाई रचनात्मक रूपमा लिएर पार्टीलाई माथि उठाउने काम गर्नुभयो।’
उनले अगाडि भने, ‘आज देशमा गणतन्त्र आएको छ। हाम्रो पार्टीको सरकार छ। २०१५ सालमा बीपी कोइरालाको पालापछि नेकपाले यति ठूलो जनमत प्राप्त गरेको छ। जहाँसम्म म पार्टीका वरिष्ठ नेताको आलोचना गर्ने नेतामध्येमा पर्छु। मुखैमा आलोचना गर्छु। यसो हेर्छु, पदले आज उहाँहरू अघि हुनुहुन्छ। पार्टीमा लागेको, सदस्य लिएको, काम गरेको हिसाबमा हेर्ने हो भने म डाराउनु पर्ने कारण देख्दिँन अनि बोल्छु। तपाईंहरू पनि बोल्नुपर्छ। सम्बन्धित पक्षले आलोचना गर्ने व्यक्तिलाई शत्रु देख्ने र त्यसै मुर्मुरिने काम गर्नु हुँदैन। त्यसले पार्टीलाई घाटा हुन्छ।’
उनले भने, ‘गंगालालपछि पुष्पलाल जन्मिनुभएका कारण हामीले पुष्पलाललाई माइला दाइ भन्थ्यौँ। उहाँको सामुन्नेमा उभिएर कसैले आलोचना गर्न सक्दैन थियो। तर, बलराम दाइ खुलेर पुष्पलालको विरोध गर्नुहुन्थ्यो। जसका कारण नेपाली कम्युनिष्ट आन्दोलन आजका दिनसम्म आइपुगेको हो भन्न कुनै संकोच छैन।’
पूर्व एमालेदेखि आजको नेकपासम्म आउँदा आफूले माथिल्लो तहका नेताले गर्ने गल्तीहरूलाई जस्ताको त्यस्तै समयमै आलोचनाका रूपमा राख्दै आएको नेता गौतमको भनाइ थियो।
उनले भने, ‘मलाई चित्त बुझेन भने बोलिहाल्छु। व्यक्तिलाई पूर्वमाओवादीमा के थियो खै? यता नेकपा बनिसकेपछि मैले प्रचण्डको अनेक पटक आलोचना गरेका छु। बलराम दाइले ‘स्वर्गमा हलचल’ भन्ने व्यङ्ग्यात्मक लघु नाटक रचना गर्नुभयो। त्यसले राजतन्त्रको अन्त्य गर्नमा सहयोगी भूमिका निर्वाह गर्नुभयाे। गणतन्त्र हासिल गर्नमा उहाँको राजनीतिक र साहित्यको क्षेत्रमा ठूलो योगदान रहेको छ।’
कार्यक्रममा कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता अमिक शेरचन, नेताहरू शान्ता मानवी, डा. जीवेन्द्रदेव गिरी, गोपाल शाक्य, खगराज अधिकारी, विद्यार्थी नेता रञ्जित तामाङ लगायतले बलराम उपाध्यायको योगदान र उनीबाट सिक्नुपर्ने पाठका बारेमा आफ्ना कुरा राखेका थिए।
तस्वीर: धनराज वास्तविक