काठमाडौं – संविधान पालनाकाे माग गर्दै राधानीकाे माइतीघर मण्डलामा खबरदारी गरिएकाे छ। शनिबार मानवअधिकारकर्मी, नागरिक समाज लगायत माइतीघर मण्डलामा जम्मा भएर संविधान पालनका लागि खबरदारी गरेका हुन्।
लोकतन्त्रका लागि नागरिक खबरदारी अभियान नाम दिएर गरेकाे खबरदारी अभियानमा सहभागीहरुले नागरिक स्वतन्त्रताको सम्मान गर्न, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लिन, मानवअधिकार आयोगमाथि हस्तक्षेप नगर्न र न्यायलयको स्वतन्त्रता कायम गर्न माग गरेका थिए।
उक्त अभिमयानमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले लोकतन्त्रलाई खुम्चाउने सरकारको कार्यशैलीविरुद्ध खबरदारी गरिएको बताए। संविधान, लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता र प्राज्ञिक संस्थाहरुको आधारभुत मुल्य मान्यताविरुद्ध सरकारले विधेयकहरु ल्याएकाले विरोधमा उत्रनुपरेको बताए।
यस्तै वरिष्ठ पत्रकार हरिहर विरहीले सरकार स्वयम् संविधानलाई घेरावन्दीमा पारेर जनताको अधिकारहरु सिमित र नियन्त्रित गर्ने हस्तक्षेपकारी भुमिकामा देखिएको भन्दै तत्काल संविधान विपरितका कार्य बन्द गर्न माग गरे। ‘संविधानले दिएका अधिकारहरु उपभोग गर्न नपाइरहेको अवस्था मात्रै छैन। संविधानलाई घेरावन्दीमा पारेर जनताको अधिकारहरु सिमित र नियन्त्रित गर्ने, हस्तक्षेप गर्ने काम भएको छ। यसलाई बन्द गरियोस् ’ उनले भने।
खबरदारी अभियानमा सहभागी चिकित्सक डाक्टर गोविन्द केसी, मानवअधिकारकर्मी चरण प्रसाई र डाक्टर बिमला शाक्यले लोकतन्त्रका आधारभुत मुल्य र मान्यतालाई विर्सेर अधिनायवादी शैलीमा सरकार हिँडेको आरोप लगाए।
मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकहरु सरकारले संविधान विपरित ल्याउने काम गरेको भन्दै अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजले विरोध गर्दै आएका छन् ।