काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ललितपुर जिल्ला नेता रामकृष्ण हुमागाँई नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रिय जागरण अभियान कार्यक्रमअन्तर्गत शुक्रबार हुमागाँईलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसमा स्वागत गरेको हुन्।
पार्टी प्रवेश कार्यक्रममा नेता हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएकोले आफू कांग्रेस प्रवेश गरेको बताए। ‘२५ वर्ष नेकपाको स्कुलिङमा हुर्किँदा काँग्रेसप्रति मलाई भ्रम थियो। देशभक्त र असली लोकतन्त्रको पहरेदार कांग्रेस रहेछ। अहिले आएर थाहा पाएँ।’
उनले सत्तारूढ नेकपामा कम्युनिष्ट चरित्र नभएको बताउँदै कम्युनिस्ट हुँ भन्दा लाज लाग्ने परिस्थिति सिर्जना भएकोले कांग्रेस प्रवेश गरेका बताए। उनले अब आफूले ललितपुरलाई काँग्रेसको किल्ला बनाउने दाबी गरे। साथै उनले पार्टीले दिने जिम्मेवारी इमानदारीपूर्वक पालना गर्ने पनि बताए।
यता कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार दलाल र बिचौलियाहरूको चङगुलमा फेसको आरोप लगाएका छन्। सभापति देउवाले ओली सरकारबाट जनताले विकासको आशा मारिसकेको बताए। विकास प्रेमी र देश भक्त नागरिकमा कांग्रेसप्रति फेरि आशा पलाएको उनले बताए।