काठमाडौँ - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) आगामी महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय भएको छ। पार्टीको विधान संशोधन गर्दै निर्वाचनमा होमिएका राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ ठाकुर आन्तरिक तयारीमा जुटेका छन्।
पार्टीको विधान संशोधन गर्दै वडा तहदेखि केन्द्रसम्म दुईपटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था छ। यसअघि वडादेखि केन्द्रसम्म अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा त्यसलाई खारेज गर्दै आगामी महाधिवेशनबाट एकल नेतृत्वमा पार्टी जान लागेको हो। राजपा नेपाल अध्यक्ष मण्डलका पूर्वसंयोजक शरतसिंह भण्डारीले एकता महाधिवेशनबाट पार्टी अध्यक्ष मण्डल प्रणाली नभई अध्यक्षीय व्यवस्थाअनुसार हुने बताए। २८, २९ र ३० कात्तिकमा एकता महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ।
पार्टीको विधानको ‘धारा ३१ (१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकामा अब उप्रान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अघि बढ्ने व्यवस्था हुनेछ’ भन्ने संशोधन भइसकेको छ।
७ वैशाख २०७४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका विभिन्न ६ मधेसवादी दलबीच एकीकरण भई राजपा नेपालको घोषणा भएको थियो। ती ६ वटै दलका संयोजकहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा क्रमशः अध्यक्ष मण्डलको संयोजक हुँदै आएका छन्। अहिलेसम्म पार्टी चक्रीय प्रणालीअनुसार आलोपालो अध्यक्ष हुने व्यवस्था रहेकामा महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा जाँदै छ।
महाधिवेशनबाट एकल नेतृत्वमा जाने निश्चित भएपछि राजपा नेपालभित्र आगामी अध्यक्षका लागि प्रतिस्पर्धा सुरु भएको छ। अगामी महाधिवेशनबाट अध्यक्षका लागि महतो र ठाकुरले आन्तरिक रूपमा तयारी गरिरहेका छन्।
राजपाले महाधिवेशनपछि एकल नेतृत्वमा जाने गरी विधान संशोधन गरेपछि अध्यक्षका लागि महन्थ ठाकुर र राजेन्द्र महतोबीच नै प्रतिस्पर्धा हुने हो,’ राजपाका एक नेताले भने, ‘महतोमा एकीकृत पार्टीको अध्यक्ष बन्ने तीव्र महत्वकांक्षा छ भने ठाकुर सबैको स्वीकार्य नेता भएका कारण उहाँको इच्छा हुनु स्वभाविक नै हो।’
उमेर, शारीरिक अवस्था तथा पार्टीलाई गति दिने सवालमा ठाकुरले नेतृत्व गर्न नसक्ने भन्दै महतोले महाधिवेशनबाट अध्यक्ष बन्ने तयारी गरिरहेका छन्। उमेर, शारीरिक अवस्था तथा संगठनलाई गतिशील बनाउन आफूले सक्ने बताउँदै महतो कार्यकर्तामाझ प्रस्तुत भइरहेका छन्।
‘स्वास्थ्य, सक्रियता तथा पार्टीलाई गतिशील बनाउन राष्ट्रिय राजनीतिमा नेतृत्व गर्न राजेन्द्र महतोको विकल्प छैन,’ महतो निकट एक नेताले भने, ‘पार्टीलाई गतिशील बनाई मजबुत बनाउने हो भने महतोजीलाई कार्यकारी अध्यक्ष बनाउनुपर्छ।’
यद्यपि, सबैलाई मिलाएर लैजान सक्ने र राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिले समेत विश्वास गर्ने नेता भएकाले ठाकुरलाई नै अध्यक्ष बनाउनुपर्ने चर्चा रहेको छ। ठाकुर निकटका नेताले एकता महाधिवेशनपछि सर्वसम्मत रूपमा ठाकुरलाई नै अध्यक्ष बनाउने कसरतमा नेता तथा कार्यकर्ता जुटेका छन्।
‘महन्थ ठाकुरलाई पद र पैसा चाहिँदैन तर उहाँलाई शक्ति त चाहिन्छ नि,’ ठाकुर निकट एक नेताले भने, ‘उहाँ सरकारमा सहभागी भएर मन्त्री बन्ने लाइनमा हुनुहुन्न। भोलि सरकारमा सहभागी हुने अवसर आयो भने पनि ठाकुरजी सरकारमा सहभागी हुनुहुन्न । उहाँ पार्टीको कार्यकारी भएर बस्न चाहने नेता हो।’ राजपा नेपालमा अन्य चार जना पनि अध्यक्ष मण्डलका सदस्य छन् । महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव भने अध्यक्षको दाबेदार होइनन्।
यद्यपि, सार्वजनिक रूपमा महतो र ठाकुरले अध्यक्षको दाबी गरेका छैनन्। तर, कार्यकर्तामाझ प्रस्तुत हुँदा आफू नै अध्यक्ष हुनुपर्ने र सहयोग गर्न कार्यकर्तालाई तानिरहेका छन्। लामो समय कांग्रेसको राजनीति गरेका ठाकुरलाई निष्ठावान् र इमानदार नेताका रूपमा लिइन्छ। कांग्रेसको राजनीतिबाट मधेस केन्द्रित दलको राजनीतिमा प्रवेश गरेका ठाकुरले आफू मधेसी जनताको हक र अधिकारका लागि संघर्षरत रहेको बताउने गरेका छन्।
गत निर्वाचनमा पूर्वसद्भावना पार्टी पक्षधरले धेरै सिट जितेको, संगठन गर्न सक्ने र आफ्ना मागलाई स्पष्ट रूपमा राख्न सक्ने भन्दै पूर्वसद्भावना पक्षले भने राजेन्द्र महतो नै महाधिवेशनपछि अध्यक्ष हुनुपर्ने पक्षमा छन्। ‘यो विषयमा अहिले नै टिप्पणी गर्नु हतार हुन्छ,’ महतो निकट एक नेताले भने, ‘सकेसम्म सहमतिमै अध्यक्षको निर्णय हुने हो। सहमति भएन भने निर्वाचनमार्फत राजेन्द्र महतोलाई नै कार्यकर्ताले अध्यक्षका रूपमा चयन गर्ने निश्चित छ।’
विधान मस्यौदा समितिको प्रस्ताव यस्तो छ ?
राजपा नेपालले गठन गरेको विधान मस्यौदा समितिले विधानको प्रस्ताव अध्यक्ष मण्डललाई बुझाएको छ। लक्ष्मणलाल कर्णको अध्यक्षतामा रहेको मस्यौदा समितिले २५ पदाधिकारीसहितको १७१ सदस्यीय केन्द्रीय कमिटी रहने विधान तयार गरी अध्यक्ष मण्डललाई बुझाएको छ। त्यसमा अध्यक्ष एक, उपाध्यक्ष सात, महासचिव तीन, उपमहासचिव सात, सचिव तीन, कोषाध्यक्ष एक, प्रवक्ता तीन र आवश्यकताअनुसार वरिष्ठ नेता राख्ने प्रस्तावमा उल्लेख छ। पदाधिकारीसहित १७१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था रहनेछ। अध्यक्षले केन्द्रीय सदस्य संख्याको ३० प्रतिशत सदस्य मनोनीत गर्न सक्ने प्रस्ताव गरिएको छ। तर, मनोनीतको विषयमा समितिका सदस्यकैबीच फरक मत रहेको छ।
समितिका मालामती राना थारू, हरेन्द्र यादव, राजकुमार थापा, रामलाल सुतिहार, मानध्वज ब्लोन तामाङ, अकबाल अहमदले ३० प्रतिशत नभई ५ प्रतिशत मनोनीत गर्न पाउनुपर्ने फरक मत राखेका छन्। ५ प्रतिशत मनोनीत गर्दा अध्यक्षले नभई केन्द्रीय कमिटीले मनोनीत गर्न पाउने उनीहरूको मत छ। साथै निर्वाचन गर्दा होस् वा मनोनीत गर्दा सबै जात, धर्म, लिंग, समुदायलाई क्लस्टर छुट्याउनुपर्ने व्यवस्था हुनुपर्ने भन्दै फरक मतसहितको प्रतिवेदन बुझाएका छन्। तर, समितिका संयोजक कर्ण र सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ला, केशव झाले ३० प्रतिशत मनोनीत अध्यक्षले गर्न पाउने, निर्वाचन वा मनोनीत गर्दा क्लस्टर छुट्याउनुनपर्ने मतसहितको प्रतिवेदन बुझाएका छन्। यो समाचार राजधानी दैनिकले छापेको छ।