काठमाडौँ — सरकारले चार मित्रराष्ट्रका लागि कूटनीतिक अनुभव नभएका चार जनालाई राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा.वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
राजदूत सिफारिसमा सत्तारूढ नेकपाभित्रको शक्ति सन्तुलन मिलाइएको छ। सिफारिसमा परेका चार जना प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका व्यक्ति हुन्। सरकारले राजदूत सिफारिस गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।
तत्कालीन राजदूत लक्की शेर्पा फर्किएपछि खाली भएको अस्ट्रेलियामा अध्यक्ष दाहालको प्रस्तावमा उनीनिकट दाहाललाई सिफारिस गरिएको छ । नेपाल टेलिभिजनको अध्यक्ष भइसकेका दाहाल अध्यक्ष दाहालका जिल्लावासी र नातेदार हुन्।
भारद्वाज प्रधानमन्त्री ओलीकै प्रस्तावमा राजदूत सिरफारिसमा परेका हुन्। झापाकाण्डमा १२ वर्ष जेल परेका उनी त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विषयको सहप्राध्यापकबाट रिटायर्ड हुन् । पार्टी एकता हुनुअघि उनी तत्कालीन एमालेको विदेश विभागका सदस्य थिए। याे समाचार कान्तिपुरमा छापेकाे छ।