काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको शनिबारबाट शुरू हुने साताव्यापी युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्रीको युरोप भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बेलायत, स्वीट्जरल्याण्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राखेर भ्रमण हुने स्पष्ट पारे।
उनले भने, ‘हाम्रो विकासलाई पुँजी, प्रविधि र ज्ञानको आवश्यकत्ता छ, सोहीअनुसार सहयोग लिनको लागि पनि यो भ्रमण फलदायी हुनेछ।’ उनले भ्रमणको दौरान द्धिपक्षीय विषयमा पनि छलफल हुने विश्वास दिलाए। भ्रमणको क्रममा नेपालले लामो राजनीतिक संक्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले राख्ने उनले जनाए।
भट्टराईले ब्रिटिश गोर्खासम्बन्धी समस्याको बारेमा नेपालले आफ्नो राष्ट्रिय अडान र मान्यतालाई कायम राख्दै अघि बढ्ने जनाए। उनले भने, ‘बेलायसँगको हाम्रो सम्बन्ध १९४७ को सन्धिले गाईड गर्छ। मलाई लाग्छ यसमा तलमाथि हुँदैन्। तर, यो सन्धिले लामो समय पार गरेको छ। हामी अहिले परिवर्तित परिस्थितिमा छौँ। यस सम्बन्धमा छलफल चल्न सक्छ। आ–आफ्नो अपिनिएन राख्न सकिन्छ। तर नयाँ सन्धि तथा सम्झौता गर्ने तहमा हुँदैन।’
बेलायतका लागि पूर्वनेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेले प्रधानमन्त्री ओलीको युरोप भ्रमण सफल हुने विश्वास दिलाए। यद्धपी उनले विदेश भ्रमण गर्दा द्धिपक्षीय सम्बन्ध, ट्रेड, कमर्स, कल्चरलाई कति महत्व दिईन्छ, त्यसमा ध्यान दिनुपर्ने पनि धारणा राखे।
चालिसेले प्रधानमन्त्रीको भ्रमणको अघिल्लो दिनसम्म पनि भ्रमणको एजेण्डा सार्वजनिक नगरिएको बताउँदै आजको सन्दर्भमा गैरआवासीय नेपाली संघलाई रणनीतिक स्रोतको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘प्रविधि र ज्ञान हस्तान्तरण गर्नु आजको महत्व हो। अब गैरआवासीय नेपालीहरुलाई सरकारी तहमा जोड्नुपर्छ। एनआरएनहरुले सेतुको रुपमा काम गर्दै आएका छन्।’
उनले नेपालको टिआरसी कस्तो हुन्छ? भन्नेबारे पश्चिामाहरुको चासोको विषय रहेको पनि सुनाए। उनले भने, ‘यस्तो अवस्थामा भ्रमणमा जाँदा गृहकार्य गरेर जाँदा नै राम्रो हुन्छ। हिजोमात्रै नेपालका लागि अष्ट्रेलियाका राजदुतले पनि टिआरसीबारे आफ्नो धारणा राखिसकेका छन्।’
परराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले पछिल्लो समय नेपाल विश्वको प्राथमिकतामा पर्न थालेको बताए। नेपालको वैदेशिक सम्बन्ध बेलायतसँगको सम्बन्धबाट नै सुरु भएको बताउँदै नेपाल–बेलायत सम्बन्ध महत्वपूर्ण रहेको पनि पाण्डेको भनाई छ।
उनले भने, ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको जन्म नै बेलायतसँगको दौत्य सम्बन्धबाट सुरु भएको हो। हामीबीच आत्मिय सम्बन्ध छ। बेलायती महारानी एलिजावेथले दुई पटक नेपाल भ्रमण गर्नुभएको थियो। राजकुमार चाल्र्सपनि पटक पटक नेपाल आउनुभयो। ह्यारी पनि आएर जानुभयो। राजकुमारी डायनापनि नेपाल आउनुभएको थियो। बेलायतसँग नेपालको लामो ईतिहास छ।’ यद्यपी, बेलायती प्रधानमन्त्रीको तहबाट अहिलेसम्म कोही पनि नेपाल भ्रमणमा नआएको उनले सुनाए।