दोलखा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारबाट नेपाली जनता निराश भइसकेको बताएका छन्। नेपाली कांग्रेसको जनजागरण अभियानअन्तर्गत दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले उक्त कुरा बताएका हुन्।
कम्युनिष्ट सरकारका अश्वासन सबै झुठा सावित भइसकेको बताउँदै नेता पौडेलले रातोझण्डा ओढेपछि सबै कुरा माफ हुने भएकाले अब नेपालमा निराशाको युग शुरु हुन लागेको बताए। भ्रष्टाचार चरम रुपमा बढेकाले देशमा नयाँ शोषक वर्गको जन्म हुँदै गरेको उल्लेख गर्दै पौडेलले प्रजातन्त्रलाई वर्तमान सरकारले ‘लुटतन्त्र’मा परिणत गरेको दावी गरे।
निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था मिलाउनु नै वास्तविक समाजवाद भएको बताउँदै उनले व्यक्तिको पूजा नगरी पार्टीको प्रजातान्त्रिक समाजवादी सिद्धान्तलाई मार्गदर्शक बनाई अगाडि बढ्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे।
यसैगरी आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान केपी सरकारसँग नेपाली समाजका कुनै तप्का र तह सन्तुष्ट नभएको बताए। प्रधानमन्त्री ओलीले सम्पूर्ण शक्ति आफैँमा केन्द्रित गर्न लागेको उनको आरोप थियो। भ्रष्टाचार, अनियमितता र झुटको खेतीका भरमा टिकेको सरकार मिडिया काउन्सिल विधेयक ल्याएर पत्रकारको टाउकोमा तरवार झुण्ड्याउन उद्धत भएको उनको भनाइ थियो। तातो पानी खन्याएर पत्रकारिताको घर जलाउने सपना नदेख्न उनले केपी सरकारलाई चेतावनी दिए।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले राणा शासन फाल्नेदेखि पञ्चायत ढाल्नेसहित माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम कांग्रेसले गरेको बताए। अहिले कांग्रेस प्राविधिक रुपमा मात्र पराजित भएको भन्दै उनले कांग्रेसको सिद्धान्त र विचार पराजित नभएको बताए। अहिले सरकार संघीयतालाई पराजित गर्ने दिशातर्फ लागेको उनले आरोप लगाए। विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको केपी सरकारबाट जनताले आशा गर्ने सबै आधार समाप्त भएको उनले दावी गरे।
आमसभालाई पूर्व केन्द्रीय समिति सदस्य एवं संघीय सांसद जीपछिरिङ लामा, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, पूर्व सभापति ताराबहादुर कोइराला लगायतले सम्बोधन गरेका थिए।