धनगढी, ३० पुस – पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। साे प्रकरणमा आफ्नाे नाम जाेडिएपछि देउवाले यस्ताे स्पष्टीकरण दिएका हुन्।
वाइडबडी विमानको बोलपत्र आह्वान पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको देउवाले प्रस्ट पारेका छन्।
सोमबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, ‘भर्खर प्रधानमन्त्री भएको बेला थियो। १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए। कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन। मैले यस विषयमा कुनै मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन।’
उक्त समयमा आफ्नो जानकारीविना अनियमितता भएको भए यसबारेमा आफू अनभिज्ञ रहेको उनले बताएका छन्। नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय प्रधानमन्त्री देउवासँगै भएको बेला विमान खरिदका लागि रकम भुक्तानी भएको हालै सार्वजनिक भएको थियो।
यस विषयमा देउवाले विमान खरिद प्रकरणमा आफ्नो नाम जोड्नु अन्यायपूर्ण भएको बताएका छन्। उनले भने, ‘प्रचण्डजी प्रधानमन्त्री हुँदा नै सरकारले जमानी बस्ने निर्णय गरेको छ। मैले कुनै निर्णय गरेको छैन। अनि मलाई किन दोष दिने?’