काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियानले पार्टीलाई उर्जा थपेको बताएका छन्।
बिहीबार राजधानीको भृकुटीमण्डपमा राष्ट्रिय जनजागरण अभियानअन्तर्गत बृहत रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै प्रवक्ता शर्माले पहिलो चरणको जनजागरण अभियानले पार्टीलाई एकताबद्ध र जनतामाझ घुलमिल हुन उर्जा थपेको बताए। आगामी शनिबार जनजागरण अभियान कार्यक्रम सकिँदैछ। उनले यो कार्यक्रमले पार्टी सञ्चालनमा थप सजिलो बनाएको बताए।
उनले भने, ‘केही साथीहरुले असन्तुष्ट पोखे होलान्, त्यो आफ्नो ठाँउमा छ, तर यो अभियानले ७७ वटै जिल्लाका तल्लो तहका साथीहरुसँग काम गर्ने मौका मिलेको छ। पार्टी एक हिसाबले चुनावमा हारे पनि हिजो चुनावमा खट्ने साथीहरुसँग यो अभियानले जोडेको छ।’ ‘आगामी दोस्रो र तेस्रो चरणको अभियानले पार्टीलाई थप गतिशील बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ प्रवक्ता शर्माले भने।
नेपाली कांग्रेसले बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘मेरो रगत कसैको जीवन’ भन्ने नाराका साथ रक्तदान कार्यक्रमको शुरुआत गरेको छ। रक्तदान कार्यक्रम हरेक महिना गर्ने र काठमाडौँको विभिन्न अस्पताल हुने रगत अभावलाई सहयोग पुग्ने जनाइएको छ।
