काठमाडौँ - नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सांसद बालकृष्ण खाँडले सरकारले संसदमा प्रस्तुत गरेको बजेटलाई कागजको घोडासँग तुलना गरेका छन्। बिहीबारको संसद बैठकमा बोल्दै सांसद खाँडले भने, ‘कागजको घोडाले न घाँस खान्छ, न त दाना । दाना र घाँस नखाने घोडाले भारी बोक्न सक्दैन। बजेट पूँजीवाद केन्द्रित छ। ऋणात्मक छ। बजेटमा वृद्धि गरियो। पूँजीगत खर्च गर्न सकेन। विकास हुन सकेन ।’
कर्मचारीको तलब बढाएकोमा कांग्रेसको विरोध नभएको बताउँदै सचेतक खाँडले मंहगीको मार आम सर्वसाधारणहरू पर्ने कुरा सरकारले बिर्सिएको टिप्पणी गरे। उनले भने, ‘सरकारले कर्मचारीको तलव वृद्धि गरेको छ। यसमा कांग्रेसको कुनै आपत्ति छैन। तर, बढाइएको तलव कत्तिको पक्षपाती छ ? कत्तिको व्यावहारिक छ ? त्यो बुझ्नुपर्छ।’
उनले अगाडि थपे, ‘कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० छ, उसको तलब २० प्रतिशत वृद्धि हुँदा ३ हजार २ सय ४६ रुपैयाँ वृद्धि हुन्छ। प्रधानमन्त्रीको ७७ हजार २ सय ८० रुपैयाँ तलबमा १८ प्रतिशत वृद्धि हुँदा १३ हजार ९ सय १० रुपैयाँ तलब वृद्धिहुन्छ। एउटा सामान्य कार्यालय सहयोगीको पूरा तलब जति त प्रधानमन्त्रीको तलब वृद्धि हुन्छ। त्यस्तै, नासुको तलब २६ हजार ६ सय ४ रुपैयाँ छ, उनीहरूकाे पूरा तलब जति राष्ट्रपतिको २७ हजार तलब वृद्धि हुन्छ। यसलाई समानतामा आधारित बजेट भन्नुपर्ने हो र ?’
सांसद खाँडले भने, ‘यसरी विभेदकारी तलब वृद्धि गर्दा गरिब झन् संकटमा पर्ने कुरा सरकारले भुल्यो। तरकारीको मूल्य, तेलको मूल्य, चिनीको मूल्य गरिब र राष्ट्रपति, प्रधानमन्त्रीलाई फरकफरक पर्छ र ? यसरी जनतालाई अन्यायमा पार्ने काम सरकारले किन गरिरहेको छ?’
उनले भने,‘ चालू खर्चमा वृद्धि गरिने। विकास खर्च गर्नै नसक्ने। यसरी मुलुकमा शान्ति र समृद्धि, विकास र रेल आउँदैन। फोहोर सालको कागजी घोडा अलि सानो थियो। यो साल अलिकति ठूलो घोडा ल्याएको छ। अझ अलि ठूलो ल्याउनुपर्ने, कतै रेल, पानी जहाज आइहाल्थ्यो कि ?’ जनताले देशभित्रै पानीजहाज चढ्ने ठूलो इच्छा राखेका छन्, तर यसरी कागज घोडाले पानी जहाज चल्दैन।’