सुनसरी - जिल्लाको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भ्रष्टाचार गर्नेहरूलाई सडकमा पुर्याएरै छाड्ने दाबी गरेका छन्। कतिपय कर्मचारी भ्रष्ट भएकै कारण भ्रष्टाचार बढेको भन्दै उनले त्यस्ता भ्रष्टलाई सडकमा पुर्याउने र त्यसो गर्दा पार्टीले कारवाही गरे बारी खनेर खाने चेतावनी दिएका छन्।
मेयर चौधरीले एक पत्रकारलाई नाकको हड्डी बाँच्न एक करोड बजेट छुट्याएको भनेपछि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरू ईश्वर पोखरेल र योगेश भट्टराईले सार्वजनिक रुपमा आत्मआलोचना गर्न सुझाव दिएका थिए। सार्वजनिक रुपमा आत्मालोचना गर्न सुझाव दिएपछि उनले यस्तो जवाफ दिएका हुन्।
चौधरीले मंगलबार इटहरीकै पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिदै भनेका छन्, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु, एक करोड हैन दश करोड लाग्यो भने पनि सिध्याउँछु, रिस उठ्यो भने।’
उनले आफू भ्रष्टाचार विरुद्धको अभियन्ता भएको बताउँदै भ्रष्टाचारीहरूलाई तह लगाउन हदैसम्मको कदम चाल्ने बताउदै आएका छन्। उनले पत्रकारले सत्य, तथ्य पत्रकारीता भन्दा पनि केही भ्रष्ट नेताको इशारामा लागेर आफूलाई बदनाम गर्न खोजेको र भ्रष्टहरूलाई साथ दिएको गम्भिर आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘पत्रकारहरू पनि स्वार्थी नेताहरूको इशारामा बैठक गरेर, मलाई बदनाम गर्ने गरी कलम चलाउँदै आएका छन्। पित पत्रकारिता गरेका छन्। त्यस्तो पत्रकारिता गर्नेलाई मैले चाटुकारिता, पित पत्रकारिता भनेर भने। अनि त्यसपछि मलाई फोन गरेर गाली गरियो। मैले भनेँ, मैले बुझिसकेको छु, कसको इशारामा चाटुकारिता र पत्रकारिता गर्दैछौ।’
उनले विभिन्न मिडियामा अन्तरवार्ता दिने क्रममा पत्रकारीताका नाममा पित पत्रकारीता गर्नेहरूलाई जनकारवाही गरिने बताउदै आएका छन्।