काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने बाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताएका हुन्। उनले भने, ‘नेपाललाई विदेशीको ईशारामा दुई/चार जना नेताले धर्मनिरपेक्षता बनाए। हाम्रो पार्टी यसको विरुद्धमा छ। अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौँ।’
साक्षात्कारमा बोल्दै उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए। उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिनेपनि स्पष्ट पारे। राणाले थपे, नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन्। हामीसँग भएको संख्या नै काफी छ।’
अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला ढुलमुल भएर बसिरहेको आरोप लगाए। उनले भने, ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन्। अब कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ।’ राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे उपयुक्त छैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिए।
आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको बताए। उनले भने, ‘राय मिल्ने शक्तिसँग एकता हुन्छ।’ अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा बहुदलीय व्यवस्था यता अहिलेसम्मकै ठूलो उपलब्धि हाँसिल गरेको बताए।
उनले भने, ‘उहाँले (ओलीले) एमाले र माओवादी केन्द्रलाई एकता गरेर नेकपा बनाउनुभयो, नेकपाले चुनावमा भारी बहुमत हाँसिल गर्यो। उपेन्द्र यादवसहित उहाँले दुई तिहाईको सरकार बनाउनुभयो। यो राजनीतिक रुपमा ठूलो सफलता हो।’
शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढि समय व्यतित भइसक्दापनि अहिलेसम्म जनताले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उनको आरोप छ। उनले भने, ‘आखिरीमा यो सरकारको काम हेर्दा हात्ति आयो हात्ति फुस्साजस्तै छ ।’
प्रधानमन्त्री ओलीले प्राप्त म्याण्डेटअनुसार काम गर्न नसकेको उनको आरोप छ। उनले भने, ‘जनताले उहाँलाई मनपरी गर्नको लागि बहुमत दिएको होईन। बरु, राष्ट्र बनाउनको लागि दिएको हो। त्यो कुरा उहाँले बुझ्नुपर्छ। अहिले लामो अवधि भैसक्यो उहाँले शासन गर्नुभएको, तर मुलुक फेरवदल गर्न केही पनि गर्न सक्नुभएन।’