काठमाडौँ - ईटहरी उप-महानगरपालिकाका मेयर द्वारीकलाल चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईले जथाभावि नबोल्न आग्रह गरेका छन्।
नेता भट्टाराईले मेयर चाैधरीले बोलेका अभिव्यक्ति नेकपा र स्वयं उनका लागि घातक हुने बताएका छन्। उनले बुधार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘ईटहरी उपमहानगर पालिकाका मेयर द्वारीक चौधरीलाई अनुरोध, म द्वारीकलालजीको हकी स्वभाब, प्रस्ट वक्ता र इमान्दारिताको पहिलेदेखिकै प्रशंसक हुँ।
तर केही दिन यता वहाँले पत्रकार र अन्य कतिपय व्यक्तिहरूका बारेमा सार्वजनिक गर्नु भएका अभिव्यक्ति स्वयम् वहाँले धारण गर्नुभएको सार्वजनिक पद, वहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयम् वहाँको राजनीतिक उचाइका लागि कदापी सुहाउँदैन।
तसर्थ आफ्ना भनाईप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्वारीकलाल चौधरीलाई म बिनम्र अनुरोध गर्दछु।’
को हुन मेयर द्वारिकलाल चौधरी ?
इटहरी उपमहानगरपालिकाका मेयर हुन् द्वारिकलाल चौधरी। उनले केही दिन यता पत्रकारलाई नाकको हड्डी भाँच्ने, ज्यान लिने, जनकारबाही गर्ने जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिदै आएका छन्। इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी उनले अपशब्द बोल्दै अब तेरो नाकको हड्डी भाँच्न बाँकी छ भन्दै धम्क्याएका छन्।
आफ्नो फेसबुक पोस्टमा चाटुकार पत्रकार भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिएका हुन्। उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै अब तिम्रो पालो लेखेका थिए।
फोनमा उनले भनेका छन्, ‘तिमीले केके लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याको छु। तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ, उनले भनेका छन्, ‘अब म गुण्डागर्दीमै उत्रिएँ। तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ।’
यसअघि कर्मचारी कुटेको र पत्रकार लोपारेको विषयमा आलोचना भएपछि उनी काठमाडौँ पुगेका थिए। लामो समय काठमाडौँमै बसेका उनले यसअघि पनि फेसबुकमा अभद्र कमेन्ट गर्दै आइरहेका छन्।
गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए। उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए। चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरू कृष्णबहाव भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै उनले हप्काएका थिए। सो क्रममा उनले पत्रकार रेग्मीलाई लोपार्दै अभद्र व्यवहार गरेका थिए।