धनगढी - समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिलाई संस्थागत गर्न र संविधान संशोधन प्रक्रियाबाट सरकार पछि हटे पार्टीले दिएको समर्थन फिर्ता लिने बताएका छन्। सरकारका उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले अझै पनि समाजवादी पार्टीको माग यथावत् रहेको बताए।
उनले संविधान संशोधन भएन भने तराई मधेशमा आन्दोलन हुने बताए। नेपालमा थारू, मधेशी, दलित, जनजातिलगायत उत्पीडनमा परेका समुदायको माग मुद्दा सम्बोधन हरेक क्षेत्रमा समावेशिता हुनुपर्ने बताए। उनले अहिले बनेका सातवटा प्रदेश अवैज्ञानिक भएका कारण यसमा पनि फेरबदल हुन आवश्यक रहेको बताए।
समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले हालसम्मको राजनीतिक परिवर्तनलाई अपूूरो क्रान्तिको संज्ञा दिँदै सबै असन्तुष्ट पक्षको माग सम्बोधन गर्न आवश्यक भएको बताए। उनले दुई तिहाईको सरकारले जनताको आवश्यकता पूरा नगरेको बताए। देश संघीय व्यवस्थामा गए पनि शासन एकात्मक शैलीमा नै सञ्चालन भइरहेको उनको भनाइ छ। नेपालमा कांग्रेस र कम्युनिष्टले केही गर्न नसक्ने भएका कारण समाजवादी पार्टीको आवश्यकता परेको उनले बताए। समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव प्रादेशसिक अभिमुखीकरण कार्यक्रमका लागि धनगढी आएका हुन्।