बुटवल - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म अटाउने गोलमेच सम्मेलनको आवश्यकता औँलाएका छन्। बुटवलमा मंगलबार भएका छुट्टाछुट्टै कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता थापाले देश सर्वसत्तावादतर्फ उन्मुख हुन लागेको भन्दै सबै सामेल हुने गरी गोलमेचको आवश्यकता रहेको बताएका हुन्।
पार्टीको प्रदेश कार्यालय उद्घाटनका लागि बुटवल आएका अध्यक्ष थापाले गणतन्त्र आएको लामो समयसम्ममा सटही रूपमा केही परिवर्तनजस्तो देखिए तापनि ठोस रूपमा जनताले परिवर्तनको अनुभूति गर्न नसकेकोमा चिन्ता व्यक्त गरे।
‘राजतन्त्रलाई पाखा लगाएर गणतन्त्र ल्याइयो। धर्मनिरपेक्ष जनताको भावनाविपरीत ल्याइयो संघीयता, अवस्थाले थेग्नै नसक्ने गरी भारी भइरहेको छ। यी सबै समस्याका बीचबाट देशलाई निकास दिनु आवश्यक छ,’ उनले भने।
देशमा गरिबी र बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार, तीव्र रूपमा भइरहेको धर्म परिवर्तन, राष्ट्र विखण्डनको खतरा, सर्वसत्तावादको खतरा र माओवादी शक्तिको पुनरुत्थान राष्ट्रका लागि गम्भीर समस्या रहेको उनको विश्लेष्ण छ।
उनले संविधानको मौलिक सुधारका लागि नयाँ बहसको आवश्यकता रहेको समेत बताए। ‘संविधानले सबैलाई अटाउने वतावरण बनाउन सकेन,’ उनले भने– ‘संविधानको मौलिक संशोधन गरौँ र विप्लवदेखि राजा सम्मलाई समेट्ने गरीअघि बढौँ। यसो गरे मात्र सबैलाई हित हुन्छ।’
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता थापाले भारतमा पछिल्लो समयमा भएको राजनीतिक नेतृत्वले नेपालीहरूको मनोवैज्ञानिक प्रभाव पारे पनि नाकाबन्दीजस्ता विषयको सम्भावना नरहेको बताए। उनले बजेट वितरणमुखी र खुशी पार्ने खालको आएको भन्दै यसले बेरोजगार युवाहरूको भावना बुझ्न नसकेको बताए। कर्मचारीको तलबवृद्धि हुनु र वृद्धभत्तामा भएको बढोत्तरी भने बजेटका सकारात्मक पक्ष रहेको टिप्पणी गरे।