काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको गम्भिर आरोप लगाएका छन्। उनले भने, ‘देशको वाईडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सरकारले ल्याएको बजेट अदुरदर्शी र भ्रमपूर्ण रहेको पनि उनले टिप्पणी गरे। उनले भने, ‘सत्ता पक्षका साथीहरुले बजेट सुन्दर छ भन्नुहुन्छ, उहाँहरुले यो भन्नु त स्वभाविक नै हो। तर, सरकारले जुन उद्देश्य र नारा लिएको छ, यो उद्देश्य पूरा हुँदैन। यो बजेटले सरकारको उद्देश्य पूरा हुँदैन्।’
वर्तमान सरकारले विकासका कुरा सबै विदेशीलाई जिम्मा लगाएको उनको आरोप छ। उनले भने, ‘सरकारले विकासको कुरा उधारो गरेको छ। यही तरिकाले समृद्धि आउँदैन्।’ वर्तमान सरकारले साँढे दश महिनामा ४४ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको भन्दै यही तवरले कसरी समृद्धि आउँछ? भन्दै लेखकले प्रश्न समेत तेर्साए।
नेता लेखकले संघीय सरकारले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई पुरै बेवास्ता र ठगेको पनि आरोप लगाए। फरक प्रसँगमा उनले नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएकोबारे टिप्पणी गर्दै भने, ‘जुन ढंगले यो विषय आएको छ, यसले चाहीँ स्थिरताको नारा, विकास र समृद्धिको नारा जनतालाई सुनाउन व्यर्थ शब्दावली राखिएको पुष्टि गरेको छ।’
तत्कालिन् नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीचको एकतालाई उनले ओली र प्रचण्डबीचको भागबण्डाको संज्ञा दिए। मुलुकमा पछिल्लो समय व्यक्ति केन्द्रित राजनीति सुरु हुन थालेको पनि उनले जिकिर गरे।