काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउनुपर्ने बताएका छन्।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै रायमाझीले वाईडबडी सुविधा सम्पन्न जहाज भएकोले यसलाई लामो दुरीमा चलाउनुपर्ने पनि धारणा राखे। उनले भने, ‘वाईडबडीलाई भारतको नयाँ दिल्ली, मुम्बई र कलकत्तामात्रै उडाएर हुँदैन, यदि त्यसो गरियो भने कुनै फाईदा हुँदैन्।’
निगमका वर्तमान अध्यक्षले किन वाईडबडीलाई लामो दुरीमा उडान भर्ने वातावरण बनाउन नसकेको भन्दै रायमाझीले प्रश्न गरे। उनले भने, ‘सरकारी संस्थानहरु किन कमजोर हुन्छन्? यस विषयमा सरकारले अब सोच्नुपर्छ। प्राईभेटहरुले चलाउन सक्ने अनि सरकारीले किन नसक्ने? यदि यस्तै अवस्था रहिरहे निगमको नेतृत्व नै असफल हुन्छ, अब नयाँ सक्षम नेतृत्वलाई ल्याउनुपर्छ। अहिलेको अध्यक्षले काम गर्न नसके तत्काल फेर्नुपर्छ।’
‘नेकपामा दुई अध्यक्ष नै हुनुपर्छ’
अर्को प्रसङ्गमा बोल्दै उनले नेकपाभित्र अहिले कुनै विवाद नरहेको पनि उनले जिकिर गरे। रायमाझीले नेकपाभित्र औपचारिक रुपमा दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने विषय नआएको बताए।
उनले भने, ‘यो विषय हाम्रो पार्टीभित्र औपचारिक प्रस्तावको रुपमा आएको छैन्। नेताविशेषको कुरामा लागेर हुँदैन। यसमा बहस गरिरहनुपर्ने म आवश्यकत्ता ठान्दिन्।’
आफू यो वा त्यो अध्यक्षको पक्षमा नभई दुवै अध्यक्षको पक्षमा रहेको पनि रायमाझीको दाबी छ। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको गोप्य सहमति आफूहरुलाई थाहा नभएको पनि रायमाझीको भनाई छ।