इटहरी - धनकुटामा नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान सम्पन्न भएको छ। नगर क्षेत्रमा पार्टी संगठनलाई सुदृढ बनाउन वडादेखि टोल तहसम्म पुग्ने उद्देश्यले सञ्चालन गरेको उक्त अभियान कांग्रेसले गत वैशाख २५ गतेदेखि संचालन गरेको थियो।
अभियान सफलतापूर्वक सम्पन्न भएको र यसले धनकुटा नगरमा थप ऊर्जा प्रदान गरेको कांग्रेस केन्द्रीय प्रतिनिधि दीपक खड्काले वताए। उनले अब कांग्रेसले सडक र सदनमा सशक्त ढंगले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
त्यसैगरी, कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलले जागरण अभियानले सबै कांग्रेसजनमा एकता सिर्जना गरी पार्टी संगठन विस्तारमा लाग्न सबैलाई नयाँ जोस जाँगर पैदा गरेको बताए।
१ नम्बर प्रदेशसभाका सांसद लीला सुब्बाले विकास र समृद्धिका लागि विशेष योजनाका साथ अभियान सञ्चालन गर्नुपर्ने बताए। नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिका सभापति रोशन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस धनकुटाका उपसभापति नवीनकिशोर शाक्य, सचिव विजय सन्तोषी राई, क्षेत्रीय सभापति जितेन्द्र राईलगायतले अबका दिनमा नेपाली कांग्रेसले सरकारले गरेको राम्रो काममा रचनात्मक ढंगले सहयोग गर्ने र जनविरोधी क्रियाकलाप तथा निर्णयहरूको भण्डाफोर गर्न नयाँ अभियान सञ्चालन गर्ने बताए।