काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न माग गरेका छन्।
केही दिनअघि नेकपाकै अर्का सांसद् अमनलाल मोदीले संसदमै बोलेको कुराप्रति सहमति जनाउँदै सांसद बस्नेतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानबिन गर्नुपर्ने जोडदार माग गरेका हुन्।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले कुलमानमाथि अख्तियारले अनुसन्धान गर्नुपर्ने विषय उठाउँदा मोदीमाथि गाली-गलौज हुनु दुःखद् भएको समेत बताए।
विद्युत प्राधिकरणमाथि ९ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको कुरा सांसद् मोदीले उठाएका थिए। त्यसलगत्तैदेखि उनीबिरुद्ध खनिएको जनमतको खण्डन गर्दै बस्नेतले मोदीका पक्षमा मत राखेका हुन्।
सांसद् बस्नेतले भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको बताउँदै यस्तो सवेदनशील विषय उठाउँदा पनि मोदीमाथि केही सञ्चारमाध्यम र सामाजिक संजालले तल्लो स्तरको गाली र विरोध गर्नु गलत रहेको तर्क गरे।