काठमाडौँ - प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मिनबहादुर विश्वकर्माले सरकार दिनानुदिन निर्मम, निरंकुश र सर्वसत्तावादी बन्दै गएको बताएका छन्।
लोकसेवा आयोगले हालै सार्वजनिक गरेको विज्ञापनले सरकारको असली रुप बाहिर ल्याएको बताउँदै सांसद बिश्वकर्माले भने, ‘लोकसेवा आयोगको विज्ञापन खारेज गरेर संविधानको धारा ३८, ४० र ४२ को कार्यान्वयन हुने गरी पुनः प्रकाशित गर्न माग गर्दछु, सरकार अराजक, मनोमानी रुपमा चल्दैछ। यसले परिणाम राम्रो ल्याउँदैन।’
अर्का सांसद डा. मिनेन्द्र रिजालले संविधानसभा पदकको डिजाइन र सुशोभनको शैलीले संविधान निर्माणका लागि गरिएको बलिदानीपूर्ण संघर्ष र संविधानको मर्म, भावना र उत्तराधिकारलाई परिलक्षित गर्न सकेन भन्ने जनगुनासो रहेको भन्दै सम्बन्धित निकायको ध्यानआकृष्ट गरेका छन्।
त्यस्तै सांसद यज्ञबहादुर बोगटी जेठ १० गते अछामको ढकारी गाउपालिका वडानम्बर ४ बलातामा आगलागीबाट ७ वटा घरपूर्ण रुपमा नष्ट भएको, पशुंपक्षी लगायत नगद जिन्सिको क्षति भएको भन्दै तत्काल पीडितलाई राहतको व्यवस्था गर्न माग गरे।
सांसद यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो बेलायत भ्रमणको क्रममा भुपूगोर्खा सैनिकहरूले वर्षौदेखि उठाउदै आएको समानताको माग सम्बोधनका लागि ठोस पहल गर्न माग गरेका छन्।