काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वामदेव गौतमले जनताको बहुदलीय जनवाद कार्यक्रमकाे ऐतिहासिकता समाप्त भइसकेको बताएका छन्।
अर्धसामन्ती, सामन्ती र साम्राज्यवादी शोषण अन्त्यका लागि ‘जनताको बहुदलीय जनवाद’ कार्यक्रम लागू गरिएको स्मरण गर्दै नेता गौतमले यस्तो टिप्पणी गरेका हुन्।
केही दिनअघि मात्रै रक्षामन्त्री एवं नेकपाका नेता इश्वर पोखरेलले जनताको बहुदलीय जनवादलाई नै नेकपाको आधिकारिक विचारधारा स्वीकार्नुपर्ने बताएपछि नेता गौतमले ‘काउन्टर’ मा यस्तो जवाफ दिएका हुन्।
हालै एक टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा उनले भनेका छन्, ‘केही साथीहरूले यसलाई बुझेर पनि नबुझे जस्तै गरिरहनुभएको छ। कार्यक्रमिक ऐतिहासिक समाप्त भइसकेको जबजलाई आज पनि प्रगोग गर्नुपर्छ भन्नु राम्रो कुरा होइन।’
उनले अगाडि भने, ‘मार्क्सवाद–लेनिनवादले समेत नउठाएका केही वैचारिक कुरा मदन भण्डारीले अघि सार्नुभएको थियो। त्यो मार्गदर्शक सिद्धान्त भयो। अर्कोतर्फ जबज भनेको सामन्ती, अर्धसामन्ती र साम्राज्यवादी शोषणको अन्त्य गर्नका लागि अघि सारिएको कार्यक्रम हो। आज हाम्रो देशमा सामान्ती, अर्धसामन्ती र साम्राज्यवादी शोषण छैन, अनि जबज लागू गर्नुपर्छ भनेर हुन्छ ?’
मदन भण्डारीको जबजलाई पुँजीवादी ट्याग लगाउन कसैलाई छुट नभएको भन्दै नेता गौतमले २१औँ शताब्दीको जनवाद र बहुदलीय जनवादलाई मिलाएर नयाँ विचार धारा निर्माण हुने ठोकुवा गरेका छन्।
पार्टी एकीकरणले पूर्णता नपाएको भन्दै नेता गौतमले हालै विचारको बारेमा मन्थन सम्भव नभएको दाबी गरे। साथै तत्काल पार्टी एकताको पूर्णता र विचारका बारेमा बहस शुरू गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।