काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ। साथै सुरक्षा निकायमाथि कुनै घटना नभएको दावी गर्दै उक्त पार्टीले पूर्वी नेपालमा आफ्नो पार्टीमाथि दमन गर्ने सरकारी षडयन्त्रअनुरुप सुरक्षा निकायमाथि आक्रमणको हल्ला चलाइएको आरोप लगाएको छ।
आइतबार राती सोलुखुम्बुको एक प्रहरी चौकीमा विप्लव समूहले गरेको आक्रमणको प्रयास असफल भएको भन्ने समाचार आइरहेका बेला उक्त पार्टीको त्यस्तो भनाई आएको हो।
उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि दमनको अनेक षडयन्त्र र हत्या गरिरहेको छ। सोलुकुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ।’