काठमाडौँ, ३० पुस – पूर्व पर्यटन मन्त्री जीतेन्द्रनारायण देवले आफूलाई तत्कालीन पर्यटन मन्त्री देखाउँदै वाइडबडी खरिदकाण्डमा मुछेकोप्रति आपत्ति जनाएका छन्।
एक विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक लेखा समितिको निर्णयप्रति आपत्ति व्यक्त गर्दै देवले भनेका छन्, ‘२९ जेठ २०७४ मा म पर्यटन मन्त्री नै थिइन।’
लेखा समितिको प्रतिवेदनमा वाइडबडी विमान खरिद गर्न पहिलो किस्ता भुक्तानीका निम्ति सटही सुबिधा प्रदान गर्न देवको संलग्नता देखाउदै २०७४ वैशाख २५ देखि चैत १ सम्म उनी नागरिक तथा उडड्यन मन्त्री रहेको उल्लेख छ।
तर, देव तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासँगै जेठ २३ गतेदेखि मन्त्रीको जिम्मेवारीबाट मुक्त भएका थिए।
जेठ २४ गतेबाट शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो। र, तत्कालका निम्ति नागरिक उडड्यन मन्त्रालयको नेतृत्व पनि देउवाले नै गरेका थिए।
पूर्वमन्त्री देवले सार्वजनिक लेखा समितिले सो मितिमा आफूलाई मन्त्री रहेको र नैतिक जिम्मेवारी लिनु पर्ने किटान गरेको वाक्यलाई तत्काल सच्याउन माग गरेका छन्।
त्यति मात्रै होइन, उनले सार्वजनिक लेखा समितिले सार्वजनिक रुपमै यस कार्यका निम्ति आत्मआलोचना गरी सो अंश तुरुन्तै प्रतिवेदनबाट हटाउन माग गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘अन्यथा म कानुनी बाटो समाउन बाध्य हुने छु।’