काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकाे प्रहरी चाैकी कब्जा गर्ने प्रयास असफल भएकाे छ। विप्लव समूहले आइतबार राति सोलुखुम्बु, महाकुलुङ गाउँपालिका–३ छेस्काम प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेपनि कब्जा गर्न नसकेकाे हाे। गएराति १२ बजेतिर २५–३० जनाकाे समूह हतियारसहित पुगेका थिए।
विप्लव समूहले चौकी आक्रमणको सूचना पाएसँगै प्रहरी हतियार सहित चाैकीबाट भागेपछि उनीहरुले आक्रमण गर्न नसकेको हाे। राति चौकी छाेडेर भागेका प्रहरी बिहान सात बजे मात्र चाैकी पुगेका थिए।
सशस्त्र प्रहरी स्रोतका अनुसार आज बिहानै काठमाडौंबाट सशस्त्र प्रहरीको ११ जनाको र नेपाल प्रहरीको २० जनाको विशेष टोली हेलिकप्टरबाट सोलुखुम्बु पुगेर परिचालित भएकाे छ। विराटनगरबाट पनि प्रहरी टोली सोलुखुम्बु पुगेको छ।
यता जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले भने घटनाकाे बारे कुनै प्रतिक्रिया दिएकाे छैन। साेलुखुम्बुका प्रहरी इस्पेक्टर प्रदिप सुवेदीले छेस्काममा कुनै पनि घटना नभएकाे जनाए। उनीसँग पटक पटक सम्पर्क गरे पनि घटनाकाे बारेमा कुनैपनि जानकारी नभएकाे दाेहाेर्याए। साेलुखुम्बु प्रहरीले अझै घटनाकाे पुष्टि गरेकाे छैन।