चितवन, २९ पुस – विवेकशील साझा पार्टी चितवनले उज्वल थापाको नेतृत्वमा पार्टीको एउटा समूह अलग्गिएको विषयमा गम्भीरताका साथ लिएको जनाएको छ।
विवेकशील साझा पार्टीका जिल्ला संयोजक भुपेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा ३७ जना केन्द्रीय सदस्यमध्ये केहीले अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ताको गरिएको घटनाले आश्चर्यचकित बताएको उल्लेख छ।
‘पार्टीमा कार्यशैली तथा कार्य प्रणालीहरुमा वैचारिक मतभिन्नता हुनु स्वाभाविक नै हो, तर मतभिन्नताहरुको समाधान पार्टीको बैठक छलफलबाट नै खोज्नु पर्नेमा अलग्गै पार्टी गठनका लागि निवेदन दिनेजस्ता कार्यबाट पार्टीमा गम्भीर परिस्थिति सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
वैकल्पिक पार्टी निर्माणमा खटिरहेका संयोजक रवीन्द्र मिश्र तथा अन्य नेताहरुलाई हालको यो अन्योललाई चिर्दै अझ बढी हिम्मत र जोशका साथ अघि बढ्दै हाम्रै जीवनकालमा देश रुपान्तरणको अभिभारा पूरा गर्नका लागि साथ र समर्थन रहेको संयोजक बस्नेतले उल्लेख गरेका छन्।
‘पार्टीको सिद्धान्त, दर्शनका साथै राष्ट्रिय मुद्दामा दृष्टिकोण बाझिएर नभई पार्टी सञ्चालनका सामान्य मुद्दामा मतभेदका कारण पार्टीको बैठकमै नआई उहाँहरूले अलग हुने बाटो तय गरेकाले यसबाट उहाँको नियतमा अनेकन आशंका र प्रश्नहरू उब्जिएका छन्, यद्यपि हामी उहाँहरुले तय गर्न लागेको यात्रा ठिक थियो भन्ने पुष्टि गर्न सफल हुनुहोस भनि शुभकामना व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।